कट्रिना कैफमाथि क्यानडाको सडकमा प्रशंसकको दुर्व्यवहार

 असार २८, २०७५ बिहिबार १८:७:५७ | एजेन्सी
unn.prixa.net

रंगीन दुनियामा रमाउने स्टारहरुले सधैँ वाहवाही र चौतर्फी चर्चा मात्रै होइन, कहिलेकाहीँ नराम्रो व्यवहारको समेत सामना गर्नु पर्ने हुन्छ ।

यतिबेला बलिउड अभिनेत्री कट्रिना कैफले यस्तै समस्या झेलेकी छिन् । कट्रिना कैफ यतिबेला सलमान खानका साथ दबंग टुरमा व्यस्त छिन । हालै सलमान खान र कट्रिना कैफसँगै ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, डेजी शाहले अमेरिकामा प्रस्तुति दिएका थिए । अमेरिकाको टुर सकेलगत्तै यो टिम क्यानडा पुगेको छ । 

कट्रिना क्यानडाको कार्यक्रममा आफ्नो प्रस्तुति सकेर भ्यानक्यूभरस्थित होटल फर्किने क्रममा उनलाई बाटैमा केही फ्यानहरुले घेरेका थिए । साथै उनलाई सेल्फी लिनका लागि जिद्दी गरिरहेका थिए । कट्रिनाले आफू कार्यक्रममा धेरै थाकिएका कारण होटलको रुममा गएर १५ मिनेट आराम गर्न चाहेको बताएपछि उपस्थित फ्यानहरु निकै रिसाएका थिए । 

त्यसपछि कट्रिनाले केही फ्यानका साथ सेल्फी खिचाइन् तर एक महिला फ्यानले आफूहरुले केवल सलमान खानका लागि आएका हौं र हामी सेल्फी खिच्दैनौं भन्दै जथाभावी कुरा सुनाएकी छिन् । कट्रिनामाथि केही फ्यानले दुर्व्यवहार गरिरहँदा एकजनाले खिचेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 
कट्रिनामाथि भएको यस किसिमको दुर्व्यवहारको घटना पहिलो पल्ट भने भएको होइन ।

कलाकारहरुले यस किसिमका दुर्व्यवहारको सामना बेला बेलामा गर्नु परिरहेको हुन्छ । आफ्नो व्यस्त जीवन शैलीमा काम गर्ने क्रममा थकित कलाकारले फ्यानहरुलाई समय दिन नसक्दा सार्वजनिक स्थलमा बेइज्जत हुनु पर्छ । तर कट्रिनाले आफूमाथि दुर्व्यवहार हुँदा पनि फ्यानसँग सेल्फी खिचाएको कुरालाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । 

कट्रिना कैफ शाहरुख खानका साथ फिल्म ‘जिरो’ मार्फत दर्शकमाझ आइरहेकी छिन् । साथै आमिर खानको फिल्म ‘ठग्स अफ् हिन्दुस्तान’ मा पनि काम गरिरहेकी छिन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया