मन्थलीमा भएकाे ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयाे, २ जना घाइते

 भदौ १७, २०७६ मंगलबार १६:३५:४३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछाप नगरपालिकाबाट मन्थली नगरपालिकाको वडा नं १३  फुलासीतिर जाँदै गरेकाे ट्र्याक्टर दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ भने अन्य दुई जना घाइते भएका छन् ।

सिमेन्ट लिएर गएकाे ना ६ त ६३०१ नम्बरको ट्र्याक्टर मन्थली नगरपालिका वडा नम्बर-२ को लिपेखोलामा मंगलबार दिउँसो दुर्घटना हुँदा चालक ध्रुव रोकाको ज्यान गएको हाे । 

दुर्घटनामा घाइते भएका चालक राेकाकाे मन्थलीमा रहेकाे तामाकोशी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । त्यसैगरी ट्र्याक्टरमा रहेका दोरम्बा गाउँपालिका वडा नम्बर-५ का दिनेश नेपाली र मन्थली नगरपालिका वडा नम्बर-६, भलुवाजोरका रोशन परियार घाइते भएका छन् । घाइतेमध्ये रोशन परियारको अवस्था गम्भीर भएकाले मन्थलीकाे तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । 

अर्का घाइते दिनेश नेपालीको भने तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।

पुरानो सदरमुकाम रामेछाप डाँडाबाट ट्र्याक्टरमा क्षमताभन्दा बढी सिमेन्ट बोकेर तीव्र गतिमा मन्थली गइरहेकाे ट्र्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिनुभयाे ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेकाे र मृतक रोकाको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको प्रहरीले जनाएकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया