सेती नदीको चट्टानमा फसेका गाईको उद्धार

 भदौ १७, २०७६ मंगलबार १७:४०:२७ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–४, पिपल्ला नजिकै रहेको सेती नदीको चट्टानमा फसेका ३ वटा गाईको उद्धार गरिएको छ ।

उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ । सेती नदीको चट्टानमा फसिरहेका गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा मंगलबार उद्धार गरी सुरक्षित ठाउँमा निकालिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नदीको चट्टानमा फालिएका गाईको उद्धार गरिएको छ, सडकमा छोडिएका गाईहरु जानीजानी भिरमा कैले धकेलेको जस्तो छ, फाल्नेलाई कारबाही गर्न आदेश दिएको छु ।’

गाई फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको दिपायलमा रहेको ३६ नम्बर गणको टोली तथा स्थानीय बासिन्दासहितको टोलीले गाईको सकुशल उद्धार गरेको थियो ।

त्यस्तै उद्धार गरिएका गाईमध्ये केही दूधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको उद्धार कार्यमा संलग्न स्थानीय नागरिक तेजबहादुर डुम्रेले बताउनुभयो । पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु जम्मा गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो ।

यसभन्दा अगाडि पनि त्यही ठाउँमा ७ वटा गाई फालिएको थियो । फालिएका ती गाईको पनि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया