म्याग्दीमा जीप दुर्घटना हुँदा चालकसहित चारजना घाइते

 भदौ १७, २०७६ मंगलबार १८:१:३८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा मंगलबार जीप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन् ।

रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मौवाफाँटदेखि पिप्लेतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

दुर्घटनामा परेर जीपका चालक मंगला गाउँपालिका–५, अर्मन म्याग्दीका २४ वर्षीय ओमबहादुर पुन, आयोजनाका इन्जिनियर काठमाण्डाै महानगरपालिका–२४ का ३० वर्षीय शैलेश शाक्य, रामेछाप सुनापती–४, बेथानका २४ वर्षीय डिसम घिसिङ र रुपन्देही बुटवलका ४७ वर्षीय बुद्धिसागर न्यौपाने घाइते भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । 

घाइतेहरुको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचारपश्चात् तीनजना चालक पुन, इन्जिनियर शाक्य र न्यौपानेलाई एअर डाइनेष्टीको हेलिकप्टरमार्फत काठमाण्डौको मेडिसिटी अस्पताल पुर्‍याइएको छ ।

यसैगरी घाइते सिभिल इन्जिनियर डिसम घिसिङ भने बेनी अस्पतालमा उपचार गरी डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो । 

जीप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा परेपछि घाइतेको स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरेका थिए । दुर्घटनाका विषयमा भने अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया