हरिनास बाबुछाेरा हत्या प्रकरण: साेधपूछका लागि मृतकका भाइ र श्रीमती प्रहरी नियन्त्रणमा

 भदौ १७, २०७६ मंगलबार २०:२२:३३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको हरिनास गाँउपालिकामा भएकाे बाबुछाेरा हत्या प्रकरणमा अनुसन्धानका लागि मृतककी श्रीमती र भाइलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले खड्काकी श्रीमती र मृतकका भाइ लगायतलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिनुभयो । घटना स्थलको पहिलो चरणको अनुसन्धान भइसकेकोले थप अनुसन्धानका लागि मृतकका परिवारलाई साथमै ल्याएको लम्सालले जानकारी दिनुभयो ।

स्याङ्जाको पहिलेकाे मग्याम चिसापानी गाविसका ३० वर्षीय चित्रबहादुर खड्का र उनका ४ बर्षीय छोरा रिजन खड्काको साेमबार राति हत्या गरिएको हो ।
 
बिहानपख अन्दाजी ४ बजेको समयमा मुखमा मास्क लगाएर आएको हतियारधारीले हत्या गरेको खड्काकी श्रीमती अनिता खड्काले प्रहरीसमक्ष बताउनु भएको छ । घटनापछि स्याङ्जाका प्रहरी प्रमुख डीएसपी नविनकृष्ण भण्डारीको नेतृत्वमा अनुसन्धान थालिएको छ । कसले के उद्देश्यले हत्या गर्‍यो भन्ने विषय हालसम्म खुल्न सकेको छैन ।

जिल्ला प्रहरी र गण्डकी प्रदेशबाट कुकुरसहित पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको भण्डारीले जानकारी दिनुभयो । हत्या गरिएका बाबु छोराको शवलाई पोष्टमार्टमको लागि गण्डकी अस्पताल पोखरा लगिएको छ । डीएसपी भण्डारीका अनुसार पोष्टमार्टमपछि कस्तो हतियार प्रयोग भएको हो भन्ने अनुमान लगाउन सकिने छ ।  


 
रिसिबीका कारण घटना भएको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्याङ्जा प्रहरी प्रमुख लम्सालले भन्नुभयो, ‘गाउँमा बाक्लो बस्ती रहेकाले पनि हत्यारालाई हत्या गर्न सजिलो भएको देखिन्छ ।’ 
 
घरको एउटै कोठामा फरक फरक खाटमा सुतेका श्रीमान श्रीमतीमध्ये बाबु छोरा एउटा खाटमा र श्रीमती अर्को खाटमा सुतेका बेला घटना भएको देखिन्छ । हतियारले श्रीमान र छोरालाई हानिरहेको देखेर खड्काकी श्रीमतीले चिच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
 
झण्डै ६ वर्ष वैदेशिक रोजगारीमा रहेर फर्किएका खड्का कुटानी पिसानीको मिल व्यवसाय गर्दै आएका र गाउँकाे इमान्दार व्यक्ति भएको स्थानीय सोमनाथ लम्सालले बताउनु भयो । लम्सालका अनुसार खड्काले गाउँघरका छिमेकीसँग यसअघि झै-झगडा समेत गरेका थिएनन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया