भाेजपुर : क्लिप लगाइएका र विषादी हालिएका रुद्राक्ष नष्ट गर्दै षडानन्द नगरपालिका

 भदौ १८, २०७६ बुधबार १३:५५:१० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – षडानन्द नगरपालिकाले क्लिप र विषादी लगाइएका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ । 

कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषादी प्रयोग गरेको प्रमाणित भए नष्ट गर्ने नगर सभाबाटै निर्णय भएको मेयर वीरबल राईले बताउनु भयो । कृषकको हित तथा रुद्राक्षको दिगो व्यापारको लागि यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।  

रुद्राक्षमा पछिल्लो समय विषादीको प्रयोग र क्लिप लगाउने प्रवृत्ति बढेको छ । ‘कृषकले रुद्राक्षमा किरा, कमिला नलागोस् भनेर प्रयोग गरेको औषधिलाई विषादी भनेर व्यापारीले गलत प्रचार गरिरहेका छन् । तर केही व्यापारीले विषादी भनेर परिभाषित गरे पनि त्यो विषादी नभएर भिटामिन, मल हो’, कृषक सुमन खड्काले बताउनुभयो । 

कृषकले भिटामिन तथा मल प्रयोग गर्दा कृषि प्राविधिकको परामर्श लिएर प्रयोग गरेको र यसले रुद्राक्ष उत्पादन बढाउन सहयोग गर्ने भएकाले यो विषादी नभएको खड्काको भनाइ छ ।  

केही वर्ष अघिसम्म चिनियाँ व्यापारीहरु कृषकका घरघरमा पुगेर रुद्राक्ष किन्ने गर्दथे तर स्थानीय व्यापारीका कारण प्रशासन प्रयोग गरेर उनीहरुलाई गाउँ पस्न रोक लगाइएको किसानले गुनासो गरेका छन् । चिनियाँ व्यापारीलाई बेच्दा हुने नाफा सुरक्षित गर्नका लागि व्यापारीले चिनियाँ व्यापारीलाई कृषकसम्म जान रोक लगाएको स्थानीयहरु बताउँछन् । 

अहिले कृषकले प्रयोग गरेको औषधिलाई विषादी भनेर तीनै व्यापारीले कृषकमाथि नै खेलबाड गरेको स्थानीयले आरोप लगाएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया