बैतडीमा बाँदर धपाउन १० लाख रुपैयाँ विनियोजन

 भदौ १८, २०७६ बुधबार २०:४३:४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – विगत केही समयदेखि बाँदरले आतंक मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका– ५ ले बाँदर धपाउन १० लाख रुपैयाँ छुट्याएको छ । 

दशरथचन्द नगरपालिका–५ मा बाँदर व्यवस्थापनको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ । बाँदरलगायत अन्य जंगली जनावर व्यवस्थापन गर्नको लागि रकम विनियोजन गरिएको वडाध्यक्ष नारायणप्रसाद भट्टले जानकारी दिनुभयो  । 

वडामा खासगरी बाँदरले आतंक मच्चाएको वडाध्यक्ष भट्टले बताउनुभयो । खेतमा लगाएको अन्नबाली, सागसब्जी, तरकारी तथा फलफूल बाँदरको हुल नै आएर सखाप पार्ने गरेको छ ।  यसका साथै घरभित्र नै पसेर पकाएको खाना तथा थन्काएर राखेको अन्न तथा अन्य खाद्यान्नसमेत बाँदरले खाने गरेको वडाध्यक्ष भट्टले भन्नुभयो । 

बाँदरले बाटोमा हिँड्ने महिला तथा बालबालिकालाई समेत आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो । गएको साउनमा तीन जनालाई बाँदरले टोकेको र तीनै जनालाई रेबिजविरुद्धको सुईसमेत दिइएको उहाँले बताउनुभयो । 

रकम विनियोजन गरिएको भए पनि जंगली जनावर व्यवस्थापन कसरी गर्ने भन्ने विषयको टुंगो भने लाग्न बाँकी नै रहेको वडा कार्यालयले जनाएको छ । जंगली जनावर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, दशरथचन्द नगरपालिका र अन्य सरोकारवालाहरु बसेर केही दिनभित्रै ठोस निर्णय गरिने जनाइएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया