पाँचथरमा फौजी किराको आतंक: किसानलाई वितरण गरिएको विषादीले काम गरेन

 भदौ १८, २०७६ बुधबार १६:४७:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल तस्बिर

पाँचथर - पाँचथरमा पनि फौजी किराको प्रकोप देखा परेको छ । जिल्लाको दक्षिणी क्षेत्र तुम्बेवा र कुम्मायक गाउँपालिकाका फौजी किराको प्रकोप देखा परेको हो ।

फौजी किराले तुम्बेवा गाउँपालिकाको वडा नम्बर १, २ र ५ मा किसानले लगाएको मकै, जुनेलो र अन्य हिउँदे बाली पुरै सखाप पारेको गाउँपालिका अध्यक्ष होम थापाले बताउनुभयो ।

फौजी किराको प्रकोप पालिकाको अन्य ठाँउमा पनि देखिन थालेको उहाँको भनाइ छ । साता दिन अघिबाट फैलिएको फौजी किराले मकै, जुनेलो र हिउँदेबाली काम नै नलाग्ने गरी सराख पारेको स्थानीय बताउँछन् । यस्तै कुम्मायक गाउँपालिकामा पनि फैजी किराको प्रकोप देखा परेको  छ । पालिकाको १, २, ३, ४ र ५ वडामा किराको प्रकोप देखा परेको स्थानीय रमेश थापाले बताउनुभयो ।

तुम्बेवा गाउँपालिकाका किसानले लगाएका हिउँदे बालीमा फौजी किराको प्रकोप फैलिएपछि किरा नष्ट गर्न गाउँपालिकाले वितरण गरेको विषादीले किरा नमरेको किसानहरुले बताएका छन् । किराले मकै र जुनेलो सराख पारेपछि किसानले विषादी उपलब्ध गराउन पालिकालाई आग्रह गरेपछि गाउँपालिकाले १ हजार र पालिकाकै कृषि शाखाले १ सय गरी ११ सय डब्बा विषादी वितरण गरेको थियो ।

तर त्याे विषादीले किरा नष्ट नभएको किसान घलेन्द्र लिम्बूले बताउनुभयो । जिल्लाको सुख्खाग्रस्त क्षेत्र भएकाे र लामो समयको खडेरीको चपेटाबाट त‌ंग्रिएका तुम्बेवा र कुम्मायक गाउँपालिकाका किसान फौजी किराले बाली सखाप पारेपछि चिन्तित बनेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया