धरहरा क्षेत्रमा पर्ने परम्परागत 'उपाकु मार्ग' खोल्ने सहमति

 भदौ १८, २०७६ बुधबार १८:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ । बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उपाकु मार्ग खोल्ने सहमति भएको हो । 
 
सहमतिअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भइसकेको छ, जुन मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा रहनेछ । उपाकु हिंड्ने मानिसहरु टेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । 

काठमाण्डौ महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने सहमति भएको जानकारी दिनुभयो । धरहरा क्षेत्र यही वडामा पर्छ । ‘परम्परागत रुपमा जहाँबाट हिँड्ने गरिएको हो, हाललाई त्यहाँ अस्थायी मार्ग बनाउने सहमति भएको छ’, उहाँले भन्नुभयो ।  

धरहरा पुनर्निर्माण कार्य हेरिरहनु भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ विज्ञ राजुमान मानन्धरले भदौ २१ गतेसम्म अस्थायी मार्ग तयार हुने जानकारी दिनुभयो । ‘उपाकु मार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराका बीचमा झण्डै करिब १० फिट बाटो छाडेका छौं । यस वर्षका लागि यहाँ अस्थायी मार्ग बनाइनेछ र पछि यहीँ स्थायी उपाकु हिँड्ने बाटो हुनेछ ।’
 
उपाकु हिँड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिँड्न मिल्ने बनाउने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ । यस वर्ष भदौ २४ गते उपाकु परेको छ ।

त्यसैगरी, खिचापोखरी–मचाढोका–टेबहाल हुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको छ । सञ्चय कोष र पहिलेको गोश्वारा हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ, पछि यहाँ स्थायी सडक बन्नेछ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया