अनिश्चित भविष्यको चिन्तामा टिपर दुर्घटनाका घाइते र परिवार

 असार २९, २०७५ शुक्रबार ६:९:३३ | रासस
unn.prixa.net

पोखरा - 'भाइ अझै आइसियुमा छ, ढाडको शल्यक्रिया गरेको छ, खुट्टामा पनि त्यस्तै चोट छ', मुस्ताङको टिपर दुर्घटनामा घाइते भएका रोल्पा सुनछहरी गाउँपालिका वडा नं १ का विमल घर्तीमगरका दाजु तीलबहादुर घर्तीमगरले भन्नुभयो । 

उन्नाइस वर्षकै उमेरमा गम्भीर घाइते भएका भाइको अहिले पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचार राम्रो भइरहेको बताउने तीलबहादुरलाई भाइको अनिश्चित भविष्यको विषयले यतिखेर मनमा भित्रैदेखि पीडा थपेको छ । 

काम गर्ने भरभराउँदो उमेरमा दुर्घटनामा परी घाइते भएका विमल जस्तै अन्य घाइते र तिनका परिवार सबैलाई एउटै चिन्ता छ, 'काम गर्न सक्ने बेलामा गम्भीर घाइते भइ काम गर्नै नसक्ने भएपछि के गरेर खाने ?' 

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा यही २२ गते शुक्रबार भएको टिपर दुर्घटनामा परी २० जनाले ज्यान गुमाइसकेका छन् भने पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा १२ जनाले उपचार गराएकामा बुधबार एकजना उपचारपछि घर फिर्ता भएका छन् । 

घाइतेमध्ये धेरैजसो रोल्पा सुनछहरी गाउँपालिकाका छन् भने केही धादिङ, दाङलगायत जिल्लाका छन् । 

ढाड र खुट्टा भाँचिएर अस्पतालको शय्यामा गम्भीर शारीरिक पीडामा छटपटाइरहेका श्रीमान् सुकबहादुर गुरुङको हेरचाह गर्दै आएकी रोल्पाको थवाङ गाउँपालिका वडा नं ५ की दीलपुरा पुनलाई कमाउन गएका पति दुर्घटनामा परेको चिन्तासँगै अबको जीवनयापन कसरी पो हुने हो भन्ने चिन्ताले सताएको छ । 

'ढाड र खुट्टामा गम्भीर चोट छ, उहाँको कम्मरमुनिको भाग चलेको छैन', पुनले दुखेसो पोख्नुभयो, 'गम्भीर घाइते भएका श्रीमान्को रातदिन हेरचाह गर्नुपर्नेछ, १३ वर्षकी छोरी र पाँच वर्षको छोरा छन्, खै यिनीहरूलाई अब के खुवाउने, पठनपाठन के हुने हो ? 

उक्त घटनाका अर्का घाइते रोल्पा सुनशहरी वडा नं १ कै ईश्वर पुनकी कुरुवा फूपूदिदी दीलमाया शेर्पा कमाउने बेलामा भतिजो दुर्घटनामा परेको बताउँदै ईश्वरका बुबा कान पनि राम्रो नसुन्ने भएकाले आफूले कुरिरहेको बताउनुहुन्छ । 

'दाजुले राम्रो सुन्नुहुन्न, यसलाई मैले कुरिरहेकी छु', उहाँले भन्नुभयो, 'अहिलेको उपचार त राम्रै भएको छ, आगामी दिनमा निरन्तर फलोअप गर्नुपर्ने अवस्था के हुने हो हामी त अन्योलमा छौँ ।'

आफ्ना धेरै आफन्त एवं साथी गुमाउनुपरेकामा पीडा भइरहेको बताउने घटनाका अर्का घाइते रोल्पा सुनछहरीकै ऋषि घर्तीमगर दाइने खुट्टा दुई ठाउँमा भाँचिएपछि अस्पतालको शय्यामा हुनुहुन्छ । 

घटनामा परी ऋषिको माइला भाइ सन्तोषले ज्यान गुमाइसकेका छन् । 

आफूजस्ता घटनाका घाइतेको भविष्य अन्योलमा परेको कुराले आफूलाई पिरोलिरहेको बताउँदै ऋषिले घटनाका घाइतेका सम्बन्धमा सरकार एवं सम्बन्धित निकाय गम्भीर बनिदिन आग्रह गर्नुभयो । 

अस्पतालको तत्कालीन उपचारमात्र होइन, पीडामा रहेका घाइते र उनका परिवारलाई सरकारले मलम लगाउनुपर्छ', उहाँले भन्नुभयो, 'काम गरी कमाएर खाने बेलामा यस्तो दुर्दशा भोग्नुप¥यो ।' 

त्यस्तै, खुट्टा र करङमा चोट लागेका अर्का घाइते रोल्पा सुनछहरीकै दिलक पुनले अहिले उपचारका क्रममा राम्रो भए पनि पछिल्ला दिनमा बल्झने घाउ एवं अन्य समस्याबारे सरकारले चासो राखिदिन आग्रह गर्नुभयो । 

मुस्ताङ घटनाका घाइतेको उपचारमा अस्पतालले कुनै कसर बाँकी नराखेको अस्पतालका प्रशासक जीवनाथ निउरेले जानकारी दिनुभयो । 

घाइतेलाई मनिपाल शिक्षण अस्पताल ल्याइएसँगै अस्पताल पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपचारलाई प्रभावकारी बनाउन निर्देशनसमेत दिनुभएको थियो । 

चालकको लापरवाहीका कारण आफूहरूको यस्तो दुर्गति भएको बताउने घाइतेले उक्त क्षेत्रमा सवारी चालक प्रमाणपत्र नभएका र मादक पदार्थ सेवन गरी चलाउनेको संख्या धेरै रहेको बताउँदै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराए । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया