दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

 भदौ १९, २०७६ बिहिबार १७:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै लागु हुनेछ ।

मन्त्रालयको स्वीकृतिपछि दुग्ध विकास संस्थानको बोर्ड बैठकले यसबारे निर्णय गर्न बैठक बोलाएको बोर्डका एक कर्मचारीले जानकारी दिए । ‘हामीले दूधकाे मूल्य बढाउनेबारे भर्खरै मन्त्रालयबाट स्वीकृति पायाैँ’, संस्थानका ती कर्मचारीले भने, ‘बैठक बसेरै दूधको मूल्य बढेको निर्णय गर्दैछौँ ।’ 

अब दूधको मूल्य एक लिटरको ७६ रुपैयाँ पर्नेछ । यसअघि ७० रुपैयाँ लिटरमा दूध किनबेच हुने गरेको थियो । दूधको मूल्य बढाउने गएको साउन मसान्तमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा समिति गठन गरिएको थियो ।

कार्यदलले  १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममा ८.२८ रुपैयाँ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सिफारिस गरे पनि मन्त्रालयले हाललाई ६ रुपैया मात्र  बढाउन स्वीकृति दिएको हो ।

मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने संस्थानको दाबी छ । त्यसको ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने भनिएको छ । 

महंगीका कारण किसानको लागत बढेसँगै दूधको मूल्य बढेको दुग्ध विकास संस्थानले जनाएको छ । दूधको मूल्य बढाउन किसानले पटक पटक दबाब दिदै आएका थिए । तर मन्त्रालयले यसबारेमा सरोकारवालासँग परामर्श गरेर दुधको मूल्य बढाउन निर्णय गरेको हो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया