व्यावसायिक कुखुरापालनमा पार्टीका नेता, भन्छन् ‘कृषिबाटै आर्थिक समृद्धि सम्भव छ’

 असार २९, २०७५ शुक्रबार ७:५०:४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सडकको आडैमा पर्छ, गिरबहादुर तामाङको घर । सुन्दरबजार नगरपालिका–६, ढाँडफेदीकुनामा रहेको उहाँको घर पुग्नसाथ देख्न सकिन्छ, तामाङको उद्यम । आँगन नजिकै बनाइएका सानाठूला व्यवस्थित कुखुराका खोर । आँगनभरी चरिरहेका कुखुरा । बारीमा फलेका काँक्रा । फुल्दै, फल्दै गरेका घिरौँलालगायतका तरकारी । खाली जग्गामा लगाईएका केरा खेतीले मन लोभ्याउँछ, उहाँको घरछेउ पुग्ने जोकोहीको पनि ।

सामाजिक क्षेत्रमा काम गर्दै आएका गिरबहादुर तामाङ अहिले व्यावसायिक कृषि कर्ममा जुट्नुभएको छ । उहाँले व्यावसायिक रुपमा नै ‘लोकल’ कुखुरा पाल्न थाल्नुभएको छ ।

गिरबहादुर नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । मुलुकलाई समृद्ध बनाउनका निम्ति सबैभन्दा पहिले आफू नै सक्षम हुनुपर्ने र अरुलाई पनि समृद्धिको मार्गमा डोर्याउनुपर्ने उहाँको भनाई छ ।

‘आर्थिक समृद्धि, समृद्ध नेपाल निर्माण हामीले देखेको सपना हो । त्यो सपनालाई साकार पार्न सबैभन्दा पहिले हामी आफैँ आर्थिक रुपमा सक्षम हुन कर्म गर्नु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘राजनीति, समाजसेवामा लाग्ने व्यक्तिहरुको पनि आफ्नै पेशा÷व्यावसाय हुनु आवश्यक छ । आयस्रोत हुनु जरुरी छ । जीवनयापनका लागि म व्यावसायिक कुखुरापालनमा लागेको छु ।’

३ वटा चल्लाबाट कुखुरापालन सुरु

गिरबहादुर २०७४ सालबाट कुखुरापालनमा लाग्नु भएको हो । ३ वटा लोकल कुखुराको चल्लाबाट सुरु भएको उहाँको कुखुरापालन अहिले फस्टाएको छ । अहिले उहाँसँग चल्ला हुर्काउने ३, चल्ला कोरल्ने १ र बस्ने १ गरी ५ वटा व्यवस्थित कुखुराका खोर छन् । ३५ कुुखुराका माउ छन् । ३ सयभन्दा बढी चल्ला हुर्कदैँ छन् ।

लोकल कुखुराको माग र मूल्य दुवै राम्रो रहेकाले व्यावसायिक रुपमै लोकल कुखुरा पालेको उहाँ बताउनुहुन्छ ।

‘बजारको समस्या नहुने । राम्रो मूल्य पाइने । लगानी पनि पनि कम पर्ने । त्यसैकारण मैले लोकल कुखुरा पालेको हुँ,’ चल्लालाई भ्याक्सिन लगाउँदै उहाँले भन्नुभयो ।

कुुखुरा घरबाटै धमाधम बिक्री

हुर्किएका कुुखुरा घरबाटै धमाधम बिक्री भएको छ । ‘बजार खोज्दै हिँड्नुपरेको छैन । क्रेता घरमै आउँछन् । राम्रो मूल्य दिएर कुखुरा लैजान्छन्,’ उहाँले भन्नुभयो, ‘हुर्किएका कुखरा विक्री भैसकेको छन् । अबको एक महिनामा थप केही कुखुरा बेच्न लायकका हुन्छन् । मासिक १ सय कुखुराको भाले बेच्ने मेरो लक्ष्य छ । मासिक एक सय भाले बेच्न सके सबै खर्च कटाएर झण्डै ६० हजार बचत हुने मेरो अड्कल छ ।’

उहाँले घरमै उत्पादित एउटा कुखुराको भाले १५ सयदेखि २ हजारसम्ममा विक्री गर्नुहुन्छ । पोथी भने ८ देखि ९ सय रुपैयाँमा बेच्नुहुन्छ ।   ‘लोकल कुखुराको मासु स्वादिलोका साथै स्वास्थ्यवर्द्धक पनि हुन्छ । मान्छेहरु कुखुरा लिन खोजीखोजी घरसम्म आउँछन्,’ उहाँले भन्नुभयो ।

खोर निर्माणमा झण्डै २ लाख लगानी गरेका गिरबहादुरको मासिक खर्च १० हजार छ । कुखुराको आहाराका लागि मकै, कोदो किन्दा महिनामा १०/१२ हजारसम्म खर्च हुने गरेको छ ।

उहाँका अनुसार एउटा माउले वर्षमा ३/४ पटकसम्म उत्पादन दिन्छ । एउटा माउले एकपटकमा १२ वटासम्म चल्ला हुर्काउँछ । ७ देखि ८ महिनामा कुखुरा बेच्नका लागि तयार हुन्छ ।

कुखरासँगै भैँसी पाल्ने रहर 

उहाँले घरको आडैमा आधा रोपनी जग्गामा ट्रष्ट हाली कुखुराको खोर बनाउने योजना बनाउनु भएको छ । उहाँसँग १० रोपनीभन्दा बढी पाखो जमिन छ । पाखो जमिनलाई उपयोग गर्दै कृषि कर्ममा लाग्नुभएका गिरबहादुरले अब २० लाख लगानी गरी व्यावसायिक रुपमा भैँसीपालन गर्ने सोच बनाउनुभएको छ ।

‘राँगा र भैँसी पाल्ने योजना बनाएको छु । दूध र मासु उत्पादनका लागि मैले यो व्यावसाय सञ्चालन गर्ने योजनाका साथ काम गरिरहेको छु । यो व्यावसाय सुरु गर्न कम्तीमा पनि २० लाख खर्च लाग्ने अनुमान गरेको छु,’ उहाँले भन्नुभयो ।

कुखुरापालनमा उहाँलाई श्रीमती मिनाकुमारी, छोरा आशमानको पनि साथ/सहयोग छ ।

खेर गएको पाखो बारी खोस्रेर परिवारका सबै सदस्य मिलेर कृषि कर्म गर्न पाउँदा मिनाकुमारी पनि खुशी हुनुहुन्छ । ‘गर्न सके पैसाका लागि विदेश जानुपर्दैन,’ मिनाकुमारीले मुस्कुराउँदै भन्नुभयो ।

कृषि व्यावसाय सञ्चालनका लागि कसैको सहयोग नलिएका गिरबहादुर भन्नुहुन्छ, ‘उद्यम गर्नका लागि राज्यको मात्रै मुख ताकेर हुँदैन । आफैँ तातेर कृषि कर्म गर्न सके यहीँ मनग्य कमाउन सकिन्छ । सजिलै गुजारा चलाउन सकिन्छ ।’          
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया