अरबौँको नक्कली चेक र हतियारसहित पक्राउ परेका सञ्जय राना को हुन् ?

 भदौ १९, २०७६ बिहिबार १८:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – धनगढीको चटकपुरबाट चार थान पेस्तोल, सुन र विभिन्न कागजातसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार पक्राउ गरेका तीनै जनालाई बिहीबार सार्वजनिक गरेको हो ।

धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय शमशेर राना, त्यही ठाउँका कमलबहादुर विक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजातसमेत बरामद गरेको छ ।

विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुकसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले बताउनुभयो । विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरी ५७ वटा चेक पनि बरामद गरिएको उहाँले बताउनुभयो । दुई करोड ४५ लाख रुपैयाँका काटेका चेक बरामद गरिएको हो ।

उनीहरुको साथबाट नक्कली चेक पनि बरामद गरिएको छ । एक अर्ब ६ करोड रुपैयाँको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । छाप र नक्कली पत्र तथा कागजातहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरिएको छ ।

विभिन्न सरकारी कार्यालयका छापहरु बरामद गरिएको हो । नापी कार्यालय, मालपोत, राजश्व संगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको हो भने राष्ट्र बैंकका गभर्नरसहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको हो ।

यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता भेटिएको छ । एउटा कैलाली र अर्को डोटीबाट उनले नागरिकता लिएको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक गिरीले लामो समयदेखिको प्रयासपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।

अहिले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मिटर ब्याज र हातहतियारको कारोबारी भएको खुल्न आए पनि विस्तृत रुपमा अनुसन्धान गर्न बाँकी रहेको प्रहरी उपरीक्षक गिरीले बताउनुभयो । ७ दिन म्याद थपेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

को हुन राना ?

डोटी केआईसिंह गाउँपालिका राना गाउँका सञ्जय राणा भनिने सन्जय रानाको केही वर्ष अगाडि धनगढीको मट्यारीमै सामान्य घर थियो । उनको पारिवारिक अवस्था सामान्य नै थियो । एकाएक उनले मट्यारीमै आलिसान घर बनाए । कारमा हिँड्न थाले, घाँटीमा सुनको मोटो सिक्री लगाउन थाले र ठूला होटेलहरुमा भोज भतेरको कार्यक्रम समेत आयोजना गर्न थाले ।

देखिने गरी कुनै पनि कारोबारमा संग्लन नभए पनि उनको जीवनशैली एकाएक फेरियो । एकाएक धन सम्पत्ति जोडेपछि छिमेकमा चर्चाको विषय बन्ने गरेको थियो । छिमेकीले सोध्दा ‘जग्गाको कारोबार गर्छु’ भन्दै उनी सहजै जवाफ दिन्थे । तर अहिले उनी पक्राउ परेपछि द्वन्द्वकालदेखि नै हतियारको कारोबारी रहेको श्रोतले जनाएको छ ।

अवैध हातहतियारको कारोबारका लागि उनले भारतमा पनि राम्रो सम्बन्ध बनाएको बुझिएको छ । यो क्षेत्रमा आपराधिक गतिविधिका लागि कसैलाई हतियार आवश्यक भए उनले नै बिक्री गर्दै आएका स्रोत बताउँछ ।

उनले यसबीचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुसँग उठबस र राम्रो सम्बन्ध पनि बनाएका थिए । त्यस्तै द्वन्द्वकालमा पनि तत्कालीन माओवादीका केही शीर्ष नेताहरुसँग उनले राम्रो सम्बन्ध बनाएको स्रोतले बतायो ।

स्रोत भन्छ, ‘उनी यो क्षेत्रकै ठूलो जग्गा दलालसमेत हुन्, सस्तोमा जग्गा खरिद गरेर, वरपरको जग्गा हडप्नका लागि उनले धम्की दिने गरेका थिए ।’ नक्कली कागजात बनाएर पनि उनले जग्गाको कारोबार गर्दै आएका थिए ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया