रहेनन् बर्दियाका पुराना अंग्रेजी शिक्षक तथा कम्युनिष्ट नेता राममणि शर्मा

 भदौ १९, २०७६ बिहिबार २०:१०:० | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया जिल्लाकै अग्रणी शैक्षिक संस्था चुरे माध्यामिक विद्यालय, बगनाहाका पूर्व शिक्षक राममणि शर्मा अधिकारीको बुधबार राति निधन भएको छ । 

ठाकुरबाबा नगरपालिका–४, बर्गदा निवासी राममणि शर्मा अधिकारीको उपचारका क्रममा ७४ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । बिहीबार बिहान बबई नदीमा अन्त्येष्टि गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य समेत रहनुभएका स्वर्गीय राममणि शर्माको शवमा पार्टीको झण्डा ओढाएपश्चात अन्त्येष्टि गरिएको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी दिलबहादुर कठायत ‘भूकम्प’ले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, चुरे माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेश यादव, पूर्व प्रधानाध्यापक कृष्णप्रसाद पौड्याल उहाँका शुभचिन्तक, नेकपा क्रान्तिकारी माओबादीका जिल्ला सेक्रेटरी दिलबहादुर कठायत, पोलिटब्यूरो सदस्य भुपेन्द्र न्यौपाने, केन्द्रीय सल्लाहकार समिति सदस्य कृष्ण भट्टराई, कालीकोट जिल्ला सेक्रेटरी कमलराज रोकायलगायतको सहभागिता रहेको थियो ।

२००३ साल असोज ६ गते प्यूठानको सल्लीबेसी नयाँगाउँमा जन्मनुभएका शर्मा २०२६ सालतिर बर्दिया बसाइँ सरी आउनुभएको थियो । २०२९ सालमा शिक्षक हुनुभएका  राममणि शर्माले जोगीगाउँको विद्यालयबाट सरुवा भई २०३५ सालदेखि बगनाहाको चुरे माध्यामिक विद्यालयमा पढाउन सुरु गर्नुभएको चुरे माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा चुरे क्याम्पस बगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्यालले बताउनुभयो । उहाँले चुरे मावि बगनाहाबाट २०६३ सालमा शिक्षक पेशाबाट अवकाश लिनुभएको थियो ।

‘स्वर्गीय राममणि दाइ आफ्नो अभिभावक जस्तै हुनुहुन्थ्यो, पेशाबाट हेर्दा निकै मिहिनेती र इमान्दार शिक्षक हुनुहुन्थ्यो’, उहाँलाई आफ्नो अभिभावक र आर्दश व्यक्तिका रुपमा सम्झिँदै चुरे माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा चुरे क्याम्पस बगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्यालले श्रद्धाञ्जली प्रकट गर्नुभयो ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले शर्मालाई यसरी सम्झनुहुन्छ, ‘आदरणीय गुरु स्वर्गीय राममणि सर निष्ठा, इमान्दारिता र कर्तव्यको एउटा प्रेरणादायी अभिभावक हुनहुन्थ्यो, उहाँले आर्दशको बाटोमा हिँड्े, कर्तव्यको पथमा लम्किन मार्गनिर्देश गर्नुभयो ।’

यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले आफू पनि बर्दियावासी भएको र आफ्नो गुरु यस क्षेत्रकै नक्षत्र हामी सबैलाई अंग्रेजी विषयको माध्ययमबाट विद्यार्थीहरुलाई पुर्याउनु भएको योगदानको स्मरण गर्दै शिक्षक शर्माको दःुखद निधनले मर्माहत भएको भन्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्नु भएको छ ।

२०३१ सालको चौथो महाधिवेशनमा नेकपाको सदस्य लिनुभएका स्वर्गीय शर्मा २०३५ सालमा पार्टीको बर्दिया सचिव समेत बन्नु भएको थियो । २०२९ सालमा जमिन्दारको विरोधमा भएको थुमैई काण्ड उहाँको नेतृत्वमा भएको थियो । पञ्चायतकालमा उहाँले झण्डै एक वर्ष जेल जीवन बिताउनु भएको थियो । त्यतिबेला कुटपिटबाट उहाँको मेरुदण्ड समेत भाँचिएको थियो ।

देशमा भएको दश वर्षे जनयुद्धको समयमा शिक्षक पेशामा रहेर पनि अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउँदै माओवादीलाई सहयोग पुर्‍याउनु भएको बताइन्छ । संकटकालका बेला विद्यालय हाताबाटै पक्राउ गरी लैजाने काम समेत भएको उहाँका शिक्षक साथीहरु विगतलाई सम्झिन्छन् ।

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अस्पतालमा भेट्न जाँदा ‘तपाईँहरु जसरी मलाई भेटन यहाँ आउनुहुन्छ, त्यो समयमा जनतालाई भेटन जानुस् जनताको साथ कहिल्यै नछाडनुस्’ भन्नुहुन्थ्यो शर्माले ।

तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बर्दियाको भुरिगाउँमा आउँदा उहाँकै घरमा भेटन गएका बेला पनि स्वर्गीय शर्माले पार्टी संशोधनबाद दिशातर्फ अघि बढेको छ यसलाई सच्चिएर अघि बढ्न सुझाव दिनुभएको कठायतले बताउनुभयो । बेलाबेलामा उहाँको घरमै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलगायतका नेताहरु आउने गर्नुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत २७, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया