प्रकाशको बाकसको यात्रा : विमानस्थलदेखि आर्यघाटसम्म (भिडियो सहित)

 जेठ ७, २०७५ सोमबार १३:३९:५२ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाडौं, वैशाख १४ – ‘भोलि विदेशबाट शव आउँदै छ, तपाईंहरु गइदिनुस् है,’ सिन्धुपाल्चोकबाट परियोजना सामीकी कार्यक्रम संयोजक  रीना श्रेष्ठले अपुरो खबर दिनुभयो ।

उहाँले अपुरो खबर सुनाइरहँदा लाग्यो सुखले बाच्ने सपना पूरा गर्न विदेश पुगेका एकजना नेपालीको जिन्दगीको यात्राले उतै थकाई मारेछ । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार काम गरेर आफ्ना अपूरा सपना पूरा गर्न विदेशिएका चार जनासम्मको परिवारलाई एक दिनमा यस्तै खबर आउँछ । आज पनि बाकसमा कसैको लाश आउदै थियो । 

शव कसको आउँदै छ, कुन देशबाट आउँदै छ, के कारणले मृत्यु भयो होला, प्रश्नहरु थुप्रै थिए । रीना श्रेष्ठले दिएको अपुरो खबर पूरा गर्न हामीले विमानस्थल पुग्नै पर्ने भयो । हामी यही प्रश्नको उत्तर खोज्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुयौं । 

वैशाख ५ गते दिउँसो पौने एक बजे हामीले बिमानस्थल पुग्नु थियो । तर रिङरोडमा बस आफ्नै गतिमा चल्दैथियो । चोकचोकको जाममा रोकिएको बसले हामीलाई समयभन्दा पछि पारिसकेका थियो । 

वैशाख ५ गते दिउँसोको आकाश पनि थोरै रिसाए जस्तो देखिए पनि दिउँसो को १ बजे विमानस्थलमा टन्टलापुर घाम लागेको थियो । तर कहिले घाम देखिन्थ्यो कहिले बादलले घामको प्रकाश छोपिदिन्थ्यो । 

विमानस्थल अगाडिपट्टी पानीका फोहोरातँछाड मछाड गर्दै माथि माथि उफ्रिरहेका थिए । त्यही पानीको फोहोराको अगाडि पट्टी सिन्धुपाल्चोकबाट बिहानै गाडीमा आएका उभिएका एक हुल मानिसका आखाबाट भने आसुका थोपा भुईमा झर्दै थिए । थाई एयरवेजको बिमानमा उनीहरुका आफन्त बाकसमा बन्द भएर आई पुगेका थिए । 

उनीहरुसँग कुराकानी गरेपछि हामीले पाएको अपुग खबर पूरा हुँदै थियो । नेपालसेनाको जागिर छाडेर मलेसिया गएका सिन्धुपाल्चोकका प्रकाश घलेको शव थाइ एयरवेजले बोकेर विमानस्थलसम्म ल्याइसकेको थियो । शव बुझेर सदगत गर्ने तयारी हुँदै थियो । 

सिन्धुपोल्चोबाट धेरैजसो आफन्त आएका थिए प्रकाशको शव बुझ्न र अन्तिम पटक अनुहार हेर्न । हामी पुगेको एकैछिनमा रातो टिर्सट लगाएका एक युवा ‘लौ शव आयो रे उता उता,’ भन्दै विमानस्थलको आगमन कक्ष तिर लागे ।

हामी पनि उनकै पछिपछि लाग्याै‍ । आगमन कक्षबाट शव बुझ्न भित्र छिर्नु अघि चिनजान गर्दा थाहा भयो उहाँ लाश भएर आएका प्रकाशका ठूलो बुवाका छोरा हुनुहुदो रहेछ । नाम : प्रविण घले ।

यात्रुहरु आउने ठाउँमा शव बुझ्ने प्रक्रिया मिलाउँदै गर्दा थाहा भयो शव पनि सामानसँगै थाइ एयरवेजको कार्गोमा पठाइएछ । नत्र त साधारणतया विदेशबाट आएका शव लगेज आउने ईमरजेन्सीको बाटो हुँदै बाहिर ल्याइन्छ । 

शव लिन आगमन कक्षबाट भित्र गएका प्रविण रित्तो हात फर्किंदा प्रकाशका आमा र श्रीमती शव कुरिरहेका थिए ।

आमा इश्वरीमाया र श्रीमती उर्मिला घले एकोहोरो भित्र नै हेरिरहेका थिए । ठूला ठूला सुट्केस लतार्दै आउनेको खुसीको माझमा छोराको शव कुरिरहेका इश्वरीमायाका आँखाले बर्षौदेखि आफ्नो छोराको त्यस्तै आगमनको प्रतिक्षा गरेको थियो । 

आमा इश्वरीमाया र श्रीमती उर्मिला घले एकोहोरो भित्र नै हेरिरहेका थिए । ठूला ठूला सुट्केस लतार्दै आउनेको खुसीको माझमा छोराको शव कुरिरहेका इश्वरीमायाका आँखाले बर्षौदेखि आफ्नो छोराको त्यस्तै आगमनको प्रतिक्षा गरेको थियो । 

इश्वरीमाया बोल्न सक्नु भएन । उहाँका पीडा आँखाबाट आँसु बनेर छचल्किरहेका थिए । जसले जता भन्यो उतै अरुकै सहारामा घिस्रिदै उहाँका पाइला अघिपछि गर्दै थिए । श्रीमती उर्मिलालाई पनि आमालाई झैं आफन्तले दुई हातमा समाएर उभ्याइरहेका थिए ।

उर्मिलाको मुख प्याकप्याक हुनेगरी सुकेको थियो । कति दिनदेखि आँखाबाट झरेका आँसु केहीबेर रोकिएको जस्तो गर्थे । अनि कति बेला झर्थे । आँसुले बनाएको लेग्रा उर्मिलाका गालामा प्रष्ट देखिन्थे ।  

शव कार्गोबाट लिनुपर्ने भएपछि उनीहरुको अन्तिम पटक मुख हेर्न समय पनि अझै लम्बियो । इश्वरीमायाले छोराको अनि उर्मिलाले लोग्नेको मुख नदेखेको तीन वर्ष भइसकेको थियो । २०७२ वैशाखमा मलेसिया लागेका प्रकाशको यो पालि दसैं मनाउन घर आउने योजना थियो । 

‘आउन पाउने त जेठमा थियो, तर दशैंसँगै नमनाएको धेरै भयो, दसैंमा आइज बाबु सँगै दशैं मनाउँला भनेकी थिएँ,’ आमा इश्वरीमायाले सुनाउनुभयो । ३ वर्षको श्रम सम्झौता गरेर गएकाले प्रकाश एक पटक पनि घर फर्किनुभएको थिएन । 

२९ महिनाकी छोरी बुवाको मलामी 

प्रकाश विदेश गएपछि छोरी प्रउषा जन्मिईन् । प्रकाशले धेरथोर पैसा पनि पठाए । २०७२ साल वैशाख ३० गते मलेसिया गएका प्रकाश स्टिल कम्पनीमा काम गर्थे । 
उर्मिला चाहिँ श्रीमान् चाँडै आइदिउन भन्ने चाहनुहुन्थ्यो । तीन महिनाको गर्भ हुँदा छाडेकी छोरी बुवासँग पापाको डिमाण्ड गर्ने भैसकेकी थिइन । तर उनले बुवालाई भेट्न पाएकी थिइनन् ।

प्रउषा बुवासँग दिनहुँ बोल्न खोज्थिन् । चैत १७ गते पनि प्रकाशले छोरीसँग बोल्न भनेर फोन गर्नुभएको थियो । ‘छोरीले बोल्न खोजेको छ भनेको हैन, देउ त भन्नुभयो, छोरी निदाएकी थिइ, मैले भोलि मिसकल हान्छु भनेको, तिमी मलाई मिसकल नगर म आफैं फोन गर्छु भन्नुभएको थियो, तर कहिले नि फोन आएन, एकैचोटी यस्तो खबर पो आयो,’ उर्मिलाले भन्नुभयो । 

१७ गते अन्तिमपटक कुरा भएको दिन पनि प्रकाशले नराम्रो केही सुनाउनुभएको थिएन । राम्रै छ भनेपछि राम्रै होला भन्नेमा ढुक्क थियो प्रकाशको परिवार । १७ गतेदेखि परिवारलाई फोन नगर्नु र एकै पटक मृत्युको खबर आउनुको कारण भने अर्कै रहेछ । 

‘विरामी परेको निकै समय भएको रहेछ, उसले परिवारलाई नभन्नु भनेको रहेछ, पछि पो साथीहरुले सुनाए,’ प्रकाशका ठूलो बुवाका छोरा प्रविणले भन्नुभयो ‘उसको साथीले हामीलाई सानो भिडियो पनि पठाएको छ, त्यसमा उसले प्रकाश तिमीलाई कहाँ दुख्या छ भनेर सोधेको छ । अनि उसले यहाँ निर भनेर पेटमा हात राख्दाराख्दै बितेको जस्तो देखिन्छ ।’

‘विरामी परेको निकै समय भएको रहेछ, उसले परिवारलाई नभन्नु भनेको रहेछ, पछि पो साथीहरुले सुनाए,’ प्रकाशका ठूलो बुवाका छोरा प्रविणले भन्नुभयो ‘उसको साथीले हामीलाई सानो भिडियो पनि पठाएको छ, त्यसमा उसले प्रकाश तिमीलाई कहाँ दुख्या छ भनेर सोधेको छ । अनि उसले यहाँ निर भनेर पेटमा हात राख्दाराख्दै बितेको जस्तो देखिन्छ ।’

अस्पतालको रिपोर्टमा भने मष्तिस्कमा रक्तसञ्चार रोकिएर प्रकाशको निधन भएको उल्लेख छ । 

साथीभाइले सुनाए अनुसार प्रकाश पहिले देखिनै बिरामी हुनुहुन्थ्यो । प्रकाशले बिरामी छु भनेर घरमा किन भन्नुभएन भन्ने त कसैलाई थाहा छैन । तर बिमारको समयमै उपचार गर्न पाएको भए छोरो बाकसमा सुतेर फर्किदैन थियो भन्ने लाग्छ इश्वरीमायालाई ।

 ३१ वर्षको छोराको मलामी बन्नुपर्दा इश्वरीमालाई मर्नकै लागि विदेश पठाए जस्तै भयो भनेर पछुतो लाग्छ । सँगै दसैँ मनाउने सपना पूरा नभए पनि अन्तिम पटक मुख हेर्ने इच्छाले उहाँलाई छोराको शव बुझ्न विमानस्थलसम्म ल्याइपुर्‍यायो । 

शव बुझ्न कार्गोमा जानुपर्ने भएपछि प्रविण सहित केही विमानस्थलको कार्गो कार्यालय रहेको गैरीगाउँ पट्टी लागे । गाउँबाट मलामी आएकाहरु सहित इश्वरीमाया र उर्मिला चाहिँ पशुपति आर्यघाटतिर । उनीहरु दुईतिर बाँडिएपछि हामी पनि दुईतिरै बाडियौं ।

पशुपति लागेकोहरुसँग म पनि सँगै गएँ । विमानस्थलबाट पुशपतिसम्म पुग्न माइक्रोबस तयार थियो । आमा इश्वरीमाया र श्रीमती उर्मिला माइक्रोबसकोे अगाडिको सिटमा बसे । माइक्रोबस विमानस्थलबाट अघि बढ्दै थियो । रिङरोडमा पुगेपछि इश्वरीमाया र उर्मिलाको मात्र हैन बसमा मलामी हिँडेका सबैका आँखा भिजे । 

अगाडि सिटको झ्यालतिरै बसेकी उर्मिला गाडीको लुकिङ ग्लासमा आफ्नो पखालिएको सिन्दुर हेरिरहनु हुन्थ्यो । झ्यालमा कुइनो टेकाएर औंला टोक्दै उर्मिला सिन्दुर पखालिए पछिको अनुहार ऐनामा हेर्दै हुनुुहुन्थ्यो । २१ वर्षकै उमेरमा सिउँदो पखालिएको जीवन कस्तो देख्नुभयो होला ऐनामा ?


सुन्निएका आँखाका डिल, गालाभरि आँसुका दाना । उर्मिला रोइरहनुभयो । आमा इश्वरीमाया भने बेलाबेला पछाडि फर्केर हेर्नुहुन्थ्यो । छोराको शवको बोकेको गाडी पछाडि आँउदै थियो ।

पशुपति आर्यघाटमा प्रकाशका काठमाडौंमा रहेका अरु आफन्त पनि जम्मा भइसकेका थिए । अब प्रकाशको शवको प्रतिक्षा थियो । भष्मेघाट अगाडि सबैजना मलामी शव कुरिरहेका थिए । शव कुर्ने मध्येमा प्रकाशकी दुई वर्षिया छोरी प्रउषा पनि थिइन ।

‘हिजो पनि बुवालाई फोन लगाइदेउ बेल्छु भन्दै थिइ नानी, आज यहाँ आएकी छे, यसलाई त के थाहा,’ नातिनी टाउको सुम्सुम्याउँदै इश्वरीमायाले सुनाउनुभयो ।  


प्रउषा घरी कुदेर आमाको काखमा पुग्थिन त कहिले हजुरआमाको काखमा । आमा रोएको देखेपछि कुद्दै आमा भएको ठाउँमा पुगेर सोधिन, ‘आमा किन रोएको ?’आमालाई टाउको दुखेको छ अनि,’ उर्मिलाले जवाफदिनुभयो ।

आमाले रुँदै दिएको जवाफमा प्रउषाको चित्त बुझेन । आमालाई हेरिरहिन । र, सँगै रोइन ।

आफन्तहरु प्रकाशको शव कसरी दाहसंस्कार गर्ने भन्नेबारे छलफल गर्न थाले । लोग्नेको दाहसंस्कार बारे आफन्तले छलफल गर्न थालेपछि उर्मिलाका आँखाबाट आँसुको मुल फुटे । सबैले विद्युतीय दाह संस्कार गरौं भन्ने सल्लाह गरे ।   

तर उर्मिलाको मनमा अर्कै कुरा चल्दै थियो । ‘चलेकै रितले गरौं न, हुँदैन विद्युतीय संस्कार त,’ उर्मिला भक्कानिनुभयो । उर्मिलाको आग्रह कसैले पनि अस्वीकार गर्न सकेनन् । 

एउटै विमानमा एकैदेशबाट तीन शव 

कार्गोमा सामान लिनेहरुको जस्तै शव बुझ्नेहरुको पनि भीड थियो । किनकी त्यहाँ एउटा होइन चार वटा शव एकै चोटी आएका थिए । तीन जना मलेसियाबाट बाकसमा फर्किएका थिए अनि एक जना कतारबाट । 

केहीबेर कुरेपछि सबै भन्दा पहिले प्रकाशकै नाम लेखएिको सेतो कपडाले बेरिएको बाकस बाहिर आयो । त्यसपछि पालैपालो अरु दुई वटा बाकस पनि निस्किए । ‘शव त आइरहन्छ तर एउटै देशबाट एकै दिनमा तीन वटा यो त अति नै हो’ सामान लिन कार्गो पुगेका एक अधवैंसे भन्दै थिए ‘विदेशमा किन यसरी मरेका होलान ?’ प्रश्नको जवाफ कसैसँग थिएन । 

 

बाकस हर्ने मध्ये प्राय भन्दै थिए,‘मलेसियामै किन यति धेरै मर्छन हँ ? यो प्रश्न पनि अनुत्तरित नै रह्योे ।

शव बहानमा राख्दा ढोका लगाउन मिलेन । थोरै भाग बाहिरै देखाउँदै शव बहान साइरन बजाउँदै पशुपतितिर हुँइकियो । 

झण्डै १ घण्टा कुरेपछि प्रकाशको शव लिएर शव बहान पशुपति आइपुग्यो । शव देखेपछि भने भष्मेश्वर घाटको माहोल फेरियो । छोराको शव बोकेर आएको गाडी परै देखेपछि आमा इश्वरीमाया भक्कानिनुभयो । उर्मिला भने चुपचाप रोइरहनुभयो । 

पशुपतिको ब्रम्हनाल अगाडि राखेर बाकस खोलियो । प्रकाशको नामको लाहाछाप उघार्दा प्रकाश आनन्दले निदाइरहेका थिए । निदाएका प्रकाशलाई देखेपछि अघिसम्म सम्हालिएका सबैजना भक्कानिए । विदेशबाट आएको शव भनेपछि पशुपतिमा पनि हेर्नेको भिड बढ्यो ।

ब्रम्हनालमाराखेर सबैले प्रकाशलाई पानी खुवाए । पानी खुवाउने पहिलो पालो आमाको थियो ।त्यसपछि श्रीमती उर्मिलाको । डाको छाडेर रुँदै पानी खुवाए । उनीहरु रोएको परैसम्म सुनिन्थ्यो । 

प्रकाशको शव चितामा राख्दा सिरानीमा थियो उर्मिला र प्रकाशबीच बिवाहमा लगाईएको स्वयम्बरको माला । माला र प्रकाशको शरीर विस्तारै धुँवा भएर आकाशमा बिलायो । उर्मिलाका आसुँ चाहिँ लाशको खरानीसँगै बागमतिकाे पानीमा बिलाइरहे ।

अन्तिम अपडेट: कात्तिक ४, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया