कर्णाली विकासको नयाँ डिजिटल नक्शा तयार हुँदैछ : मुख्यमन्त्री शाही

 भदौ २०, २०७६ शुक्रबार १२:४३:४६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार ‘प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६’ को उद्घाटन गर्नुभएको छ ।

उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा यही भदौ १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कृषि, वन, जडिबुटी, सांस्कृतिक पर्यटनको महत्व बोकेको पर्यटकीय नगरी जुम्लामा सञ्चालित प्रादेशिक महोत्सवले समग्र विकासमा टेवा पुग्ने बताउनु भयो । 

‘महोत्सवले यहाँको औद्योगिक, पर्यटन र सांस्कृतिक महत्वलाई झल्काउने छ’, मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘यसले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्ने र कर्णाली प्रदेशको अर्थतन्त्र वृद्धिमा सघाउने छ ।’ 

यसैबीच मुख्यमन्त्री शाहीले सूचना र प्रविधिको उच्चत्तम विकास भैरहेको बेला जुम्ला सदरमुकाम अन्धकार हुनु दुःखको कुरा भएको बताउनु भयो । प्रदेश सरकारले कर्णाली विकासका लागि सानादेखि मेगा आयोजनातर्फ ध्यान दिइरहेको जनाउँदै उहाँले भन्नुभयो, ‘अब प्रदेश सरकारले ६ महिनाभित्र जुम्लामा अँध्यारोको समस्या समाधान गर्नेतर्फ पहल गर्दैछ ।’ मुख्यमन्त्री शाहीले गरिबी अन्त्यका लागि पर्यटनलाई महत्वपूर्ण कडी बनाइएको बताउनु भयो ।  

‘जुम्ला–डोल्पा, जुम्ला–जाजरकोट, जुम्ला–मुगु सडक निर्माण तथा स्तर वृद्धि र कालोपत्रेमा जोड दिएका छौं । नाग्म गमगडी राजमार्गका लागि प्रदेश सरकारले ३० करोड रुपैयाँ बजेट छुट्याएको छ’, उहाँले भन्नुभयो । तत्कालीन खस साम्राज्यको राजधानी भएको भन्दै जुम्लालाई कर्णाली प्रदेशको दोस्रो ठूलो समृद्ध औद्योगिक शहरको रुपमा विकास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

त्यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भाषा र सभ्यताको जननी कर्णाली प्रदेशको जुम्लामा १० दिनसम्म सञ्चालन हुने महोत्सवले यहाँको साहित्य, कला, संस्कृतिको उजागर गर्नुका साथै पर्यटनको प्रबद्र्धन हुने विचार व्यक्त गर्नुभयो । 

मन्त्री भण्डारीले कर्णालीको विकासका लागि नीजि क्षेत्रको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भाषाको उद्गमस्थल तथा पुरातात्विक महत्व बोकेको जुम्लाको बजारीकरणमा महोत्सवले सहयोग पुग्ने बताउनु भयो । 

महोत्सवमा एक सय १ स्टलहरु राखिएका छन् । स्टलमा कर्णालीका स्याउ, आरुलगायतका फलफूल, रैथाने बालीबाट उत्पादित खाद्य परिकार, भाषा, कला र संस्कृतिसँग सम्बन्धित सामग्रीहरु, स्थानीयस्तरमा उत्पादित राडीपाखी, विभिन्न औषधिजन्य जडिबुटी राखिएको सङ्घका अध्यक्ष रज्जव अलि मनिहारले जानकारी दिनुभयो । 

सङ्घका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले स्थानीय उत्पादनको बढोत्तरी, बजारीकरण र कृषिलगायत विभिन्न उद्यममा नागरिकहरुलाई समाहित गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा ५७ लाख रुपैयाँ खर्च हुनेछ भने ६६ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ ।   

महोत्सवमा पूर्व सभासद्द्वय ललितजंग शाही, डिल्लीप्रसाद काफ्ले, कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ, जुम्लाका आठ स्थानीय तहका प्रमुख तथा अध्यक्षहरु, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासङ्घका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीलगायतका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुनु भएको थियो ।  

प्रतिपक्षी दलका नेता शाहीद्वारा महोत्सव बहिष्कार

कर्णाली प्रदेश, नेपाली कांग्रेस प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले भने महोत्सव बहिष्कार गर्नुभएको छ । आयोजकले मर्यादा क्रममा अपमान गरेको भन्दै शाहीले महोत्सव बहिष्कार गर्नुभएको हो । 

नेता शाहीमाथि अपमान भएको विषयमा आयोजक उद्योग बाणिज्य सङ्घका अध्यक्ष रज्जव अलि मनिहारले रोष्ट्रमबाटै शाहीसँग क्षमा मागेर मञ्चमा आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ८, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया