डाक्टर केसीप्रति ऐक्यबद्धता : अाकस्मिक बाहेक सबै सेवा ठप्प

 असार २९, २०७५ शुक्रबार ९:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौका आवासीय डाक्टरले हड्ताल थालेका छन् । आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा नदिने निर्णय गर्दै हड्ताल थालिएको  हो । स्वास्थ्य सेवा सुधारको माग गर्दै डाक्टर केसी अनशनमा बसेको १४ औँ दिन भइसक्दा पनि उहाँको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएकाले बाध्य भएर हड्ताल गर्नुपरेको एसोसिएसनका अध्यक्ष सुमित पाण्डेले बताउनुभयो ।

आवासीय बाहेकका डाक्टरले भने नियमित रुपमा नै सेवा दिइरहेका छन । 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा बसेका डाक्टर केशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकार गम्भीर नबनेकाले दबाब दिन सेवा बहिष्कार गरिएको उहाँले बताउनुभयो । डाक्टर केसीको श्वासप्रश्वास र मुटुमा समस्या देखिन थालेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । सरकारले उहाँलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउन खोजे पनि उहाँले मान्नुभएको छैन । काठमाडौंबाट गएका डाक्टरसँग पनि उहाँले उपचार गराउन मान्नुभएको छैन ।

काठमाडौंको माइतीघर मण्डलामा अस्पतालको बहिरंग विभाग अर्थात ओपीडी राखेर सांकेतिक रुपमा उपचार दिइने उहाँले बताउनुभयो । डाक्टर केसीसँग भएको सहमति कार्यान्वयनमा सरकारले चासो नदिँदा आन्दोलन गर्न बाध्य भएको डाक्टरले बताएका छन् । यसअघि आवासीय डाक्टरले कालोपट्टी बाँधेर विरोधका कार्यक्रम गर्दै आएका थिए । शिक्षण अस्पतालमा अहिले झण्डै तीनसय जना आवासीय डाक्टर छन् । डाक्टर केसीको यसअघिका अनशनमा पनि शिक्षण अस्पतालका आवासीय डाक्टरले आकस्मिक बाहेकका सेवा दिएका थिएनन् ।

केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बस्नु भएको यो १५ औं पटक हो ।

यसैबीच अत्यावश्यक क्षेत्रमा हड्ताल गरेको भन्दै आवासीय डाक्टरको यो निर्णयको विरोध पनि भएको छ । उपचार लगायत अत्यावश्यक क्षेत्रमा सेवा नै बन्द हुनेगरि हड्ताल गर्न नपाइने सर्वोच्च अदालतको आदेशको उल्लंघन हुनुका साथै उपचारका लागि पुग्ने हजारौँ नागरिकलाई मर्का पर्ने भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया