दोलखाको गौरीशंकरमा हटेन अझै तुइन

 भदौ २१, २०७६ शनिबार १२:३६:१८ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाको उत्तरी गौरीशंकर गाउँपालिकाको टोपटार, खानीखोलामा काठे पुलसमेत नहुँदा त्यहाँका स्थानीय नागरिक जीर्ण तुइन प्रयोग गर्न बाध्य बनेका छन् ।

गाउँपालिकाको वडा नम्बर ७ मार्बु र ८ खारेको सिमाना टोपटारमा काठको पुल समेत नहुँदा जोखिम मोलेरै जीर्ण तुइनबाटै स्थानीयवासी खोला तर्ने गर्छन् । वर्तमान सरकार ‘तुइनमुक्त देश’ बनाउने अभियानमै रहेको छ । तर टोपटारमा भने ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् स्थानीय ।

पक्की पुल माग गरेको वर्षाैं बित्दा समेत बन्न सकेको छैन । हिउँदको समयमा खोलाको बहाव कम हुँदा  अस्थायी काठे पुलको व्यवस्था गरिन्छ । तर वर्षा लागेसँगै खोलामा आउने बाढीले प्रत्येक वर्ष काठको पुल बगाउने गरेको छ ।

त्यसैगरी छिमेकी वडा मार्वुमा रहेको हिमवर्ति माविमा अध्ययन गर्न जाने विद्यार्थी पनि जीर्ण तुइनको प्रयोग गर्न बाध्य भएको स्थानीय निमा शेर्पाले जानकारी दिनुभयो ।

गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयमबहादुर खड्काले ३ वर्षअघि त्यस ठाउँमा झोलुङ्गे पुल बनाउनका लागि बजेट प्राप्त भई निर्माण व्यवसायीसमेत छनौट भइसकेको बताउनुभयो । निर्माण व्यवसायीले झोलुङ्गे पुल निर्माण सुरु नगर्दा स्थानीयवासी तुइन प्रयोग गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई दबाब दिइने बताउनुभयो । हाल तुइन प्रयोग भइरहेको स्थानमा अबको एक साताभित्र अस्थायी पुलको व्यवस्था गाउँपालिकाले व्यवस्था गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया