अमर न्यौपानेको कृति ‘गुलाबी उमेर’ मा किशोरी अवस्थाकाे उचारचढावकाे कथा

 भदौ २१, २०७६ शनिबार १७:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चौँथो कृति ‘गुलाबी उमेर’ को लोकार्पण गरिएको छ । 

काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले पुस्तकको लोकार्पण गरेका हुन् । 

कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले ‘गुलाबी उमेर’ किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताउनु भयो । यो समयमा किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षैपिच्छे उनीहरुको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन् भन्ने कुरा पुस्तकले देखाउन खोजेको उहाँले टिप्पणी गर्नुभयो ।  

‘यसमा फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको छ । उपन्यास लेखनमा केही नवीनता रहेको र प्रत्येक अध्यायको उपसंहारका रुपमा अर्काे पाठक खडा गरिनु पनि नौलो अभ्यास हो’, धरावासीले भन्नुभयो ।  नेपाली साहित्यमा किशोर साहित्यको अभाव रहेको र त्यसलाई पूर्ति गर्न यो उपन्यासले सघाउने उहाँको भनाइ छ । 

नायिका केकी अधिकारीले पुस्तक एकदमै फरक लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो । मलाई लाग्छ, यो पुस्तकमा  प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटना, परिघटनालाई सम्झन्छन् ।’  

कार्यक्रममा लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए । यो उपन्यास विद्यार्थीहरुले दिएको त्यही गृहकार्य हो ।’ 

पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा पस्किएका छन् । जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ । यही उमेरको कथा नै गुलाबी उमेर हो । 

लेखकले पुस्तकमा उमेरलाई पाँच भागमा विभाजन गरेका छन् । जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, जो सबैभन्दा अबोध र निश्छल हुन्छ । १३ देखि १९ वर्षसम्म गुलाबी उमेर, जुन सबैभन्दा तरल र कल्पनाशील उमेर हो ।  २० देखि ४० वर्षसम्म मखमली उमेर, जसलाई ऊर्जावान् र शक्तिशाली उमेरका रुपमा बुझ्न सकिन्छ ।

त्यस्तै ४१ देखि ६० वर्षसम्म बैजनी उमेर, जुन सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर हो । ६१ देखि मृत्युपर्यन्तको समयलाई लेखकले अस्मानी उमेरका रुपमा चित्रण गरेका छन्, जो सबैभन्दा आध्यात्मिक अवस्था हो । 

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ राखिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया