विराटनगर विमानस्थल: संघले अधिकार नदिँदा प्रदेशलाई अप्ठेरो, सम्भावना भएर पनि काम भएन

 भदौ २१, २०७६ शनिबार २०:३१:२३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – सामान्य प्रशासन मन्त्री पण्डितले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पहल थाल्न गम्भीर भएर लाग्ने बताउनु भएको छ ।  

लामो समयदेखि विराटनगर विमानस्थलको व्यवस्थापनको बारेमा संवाद गर्दै आएको संवाद समूह मोरङको आयोजनामा भएको संवादमा सरोकारवालाहरुकाे आग्रह स्वीकार्दै मन्त्री पण्डितले यस्ताे बताउनुभएकाे हाे ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २४ सय मिटरबाट काम सुरु गरी जग्गा अधिग्रहण गर्दा ३ हजार मिटर नै कायम गर्न सरोकारवालाहरुले सुझाव दिँदै आन्तरिक व्यवस्थापनको सुधारका विषयमा यात्रु प्रतिक्षालय, क्यान्टिनको व्यवस्थापनलगायतका कुरा पनि उठाएका थिए ।

प्रदेशको पहिचान झल्किने गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक पर्ने सूचना बोर्ड राख्न प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले काम थाल्ने र अन्य सरोकारवालाहरुले समन्वय र सहयकार्य गर्ने सहमति पनि बनेको छ ।

विराटनगरबाट सिधा उडान गर्नसक्ने प्रदेशका १४ ओटा विमानस्थल संघीय सरकार मातहतमा रहेका छन् । तर विराटनगरबाट तुम्लिङटारमा मात्र उडान भैरहेकाले विराटनगरबाट अन्य विमानस्थलमा उडान गर्न पहल थालिने पनि सहमति जुटेको छ । 

छलफलका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले विराटनगर विमानस्थल संघर्ष समिति भनेर राखिएको नाम परिवर्तन गरेर सरोकार समिति राख्न आग्रह गर्नु भएको छ । मन्त्री पण्डितले भन्नुभयो, ‘समस्या कहाँ छ, भन्नुपर्‍याे, विराटनगर विमानस्थलको सुधार तथा पर्यटकीय क्षेत्र चिनाउने बोर्डहरु राख्न कुनै अवरोध आउन दिनु भएन ।’

‘मैले सघाउनु पर्ने कुराहरु सघाउनको लागि तयार छु’, मन्त्री पण्डितले भन्नुभयो, ‘विमानस्थलको कुरा केन्द्रीय विषयवस्तु हो, प्रदेशसँग जोडेर जानु पर्छ, अलग हुनुपर्छ भन्ने होइन ।’

प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले काठमाण्डौबाट पर्यटन क्षेत्रको विकासको लागि पोखरा र लुम्बिनीलाई मात्र हेर्ने काम भएको आरोप लगाउँदै प्रदेश १ लाई नहेरिएको बताउनु भयो । ‘एक्लै प्रदेशले केही काम गर्न सक्दैन’, मन्त्री कुसियैतले भन्नुभयो, ‘कानुनीरुपमा समस्या रहेकोले कानुनीरुपमा नै समाधान खोज्ने बाटो संघीय सरकारले गरिदिनु पर्‍याे ।’ 

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगरको चहलपहल बढाउनको लागि दिल्ली, कोलकत्ता र गोवाको लागि उडान सुरु गर्नुपर्ने बताउनु भयो । तर त्यसको लागि कसले काम गर्ने भन्नेबारेमा नै अन्योलता देखिएको उहाँको भनाइ छ ।

विमानस्थल संघर्ष समितिका संयोजक पुण्य भट्टराईले विमानस्थललाई क्षेत्रीयस्तरको नबनाइँदासम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । पर्यटन तथा नागरिक उड्ययन मन्त्रीबाट केही प्रतिबद्धताहरु आएकोले त्यसलाई कार्यान्वयनमा लैजाने बारेमा समय माग भए अनुसार संघर्ष समिति चुप लागेर बसेको उहाँले बताउनु भयो ।  

पर्यटन तथा होटल व्यवसायीहरु भविश श्रेष्ठ र राजन श्रेष्ठले विराटनगरबाट दिल्ली, कोलकता र गोवाको लागि उडान गर्ने बित्तिकै भारतीय पर्यटकहरु ह्वात्तै बढ्ने धारणा राख्नुभयो ।  

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले विराटनगरबाट पहाडी रुटको उडान गर्नेबित्तिकै व्यवसायीलाई पहाडी क्षेत्रमा व्यापार गर्नको लागि सजिलो हुने बताउनु भयो । 

कार्यक्रमका सहभागीहरुले विमानस्थल सुधार र विस्तारका लागि सबै पक्षबीच समन्वय हुनुपर्ने धारणा राखेका थिए । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया