युरोकप छनोट : इंग्ल्याण्ड, युक्रेन र आइसल्याण्डको सहज जित

 भदौ २२, २०७६ आइतबार ६:३५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

युरोकप २०२० का लागि छनोट अन्तर्गत शनिबार भएका खेलहरुमा इंग्ल्याण्ड, युक्रेन र आइसल्याण्डले सहज जित निकालेका छन् । इंग्ल्याण्डले बुल्गेरिया, युक्रेनले लिथुवानिया र आइसल्यान्डले माल्दोभाविरुद्ध जित निकालेको हो ।

समूह ए अनतर्गत घरेलु मैदान वेम्वली रंगशालामा कमजोर बुल्गेरियामाथि एकछत्र हावी भएको इंग्ल्याण्डले चार शून्य गोलअन्तरको जित निकाल्दा उसका मुख्य स्ट्राइकर ह्यारी केनले ह्याट्रिक पूरा गरे । 

२४ औं मिनेटमा रहिम स्टर्लिङको पास सदुपयोग गरी पहिलो गोल गरेका केनले दोस्रो हाफको चौथो मिनेटमै पेनाल्टीमार्फत अर्को गोल थपे ।

५५ औं मिनेटमा स्टर्लिङले टिमका लागि तेस्रो गोल गर्दा केनले पास उपलब्ध गराएका थिए । ७३ औं मिनेटमा इंग्ल्यान्डले अर्को पेनाल्टी पायो । यसमा पनि केनले गोल गरे र ह्याट्रिक पूरा गरे । 

जितसँगै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा पुगेको छ । तीन खेलबाट उसले शतप्रतिशत जितसहित ९ अंक हासिल गरेको छ । यस समूहमा कोसोभोको ८ अंक छ ।

लिथुवानियामाथि ३–० को जित हासिल गरेपछि युक्रेनले समूह बीको शीर्ष स्थानमा ९ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।५ खेलबाट उसको १३ अंक भएको छ भने ४ खेल खेलेको लक्जेम्वर्ग ४ अंकसहित दोस्रो स्थानमा छ । 

लिथुवानियाको घरेलु मैदानमा युक्रेनका अलेक्सान्दर जिन्चेन्कोले सातौं मिनेटमा गोल गरी अग्रता बनाएका थिए ।

२७औं मिनेटमा मार्लोसले गोल गरेपछि पहिलो हाफमा युक्रेनले २–०को अग्रता बनायो । ६१ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरेपछि युक्रेनले सहज जित भेट्टायो ।

माल्दोभालाई ३–० गोलअन्तरले पराजित गरी आइसल्यान्ड पनि समूह एचको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलबाट उसको १२ अंक भएको छ ।

घरेलु मैदानमा आइसल्यान्डले माल्दोभालाई दवावमा राख्न सफल भयो । कोल्विन सिपोर्सनले ३१ औं मिनेटमा गोल गरेपछि आइसल्यान्डले पहिलो हाफमा अग्रता बनाएको थियो ।

५५औं मिनेटमा विर्किर जोर्नासन र ७७ औं मिनेटमा जोन बोभार्सनले गोल गरेपछि आइसल्यान्डले जित निकाल्न सक्यो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया