कांग्रेसको दोस्रो चरणको अभियान : यसरी हुँदैछ तयारी

 भदौ २२, २०७६ आइतबार ९:३३:४४ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंगलबारदेखि राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गर्दैछ ।

कांग्रेसले दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्मजयन्ती पारेर सुरु गर्न लागेको हो । जागरण अभियानमा कांग्रेसले पहिलो चरणमा जस्तै यस पटक पनि पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायतका मुद्दालाई नै उठाउने भएको छ । पहिलो चरणको जागरण अभियान एक महिना चलेको भए पनि दोस्रो चरणको अभियान भने कांग्रेसले १५ दिनमा सक्दैछ ।

मंगलबारदेखि सुरु हुने अभियान असोज ७ गते सम्पन्न हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पहिलो चरणको अभियान जिल्ला केन्द्रित गरेको कांग्रेसले यस पटक भने हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा जान लागेको हो ।

पहिलो चरणमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर कार्यक्रम गरेको थियो भने यस पटक जिल्ला भन्दा अझै तल पुगेर ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान चलाउन लागेको हो ।

अभियानअघि नै कांग्रेसले खाली रहेको पार्टीको प्रदेश कमिटीहरुलाई पूर्णता दिँदैछ । पहिलो चरणको अभियानमा पार्टीका कमिटीहरु निस्कृय रहँदा अभियान सार्थक नभएको भन्दै केन्द्रीय सदस्यहरुले पार्टी कमिटीलाई पूर्णता दिएर मात्रै अभियान सुरु गर्न माग गरेका थिए । पहिलो चरणबाट पाठ सिक्दै यस पटक अभियान सुरु हुनुअघि पार्टी कमिटी बनिसक्ने पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो ।

अभियानको पहिलो दिन कांग्रेसले देशैभर बृक्षारोपण गरेर पर्यावरण रक्षाका लागि नयाँ सन्देश पनि दिन लागेको छ । यस पटक कांग्रेसले अभियानको उद्घाटन नै वृक्षारोपण गरेर गर्न लागेको हो । बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीका दिन पारेर अभियान सुरु गर्न लागेकाले प्रत्येक निर्वाचन क्षेत्रले १ सय ६ वटै विरुवा निश्चित स्थलमा वृक्षारोपण गर्ने तयारी छ ।

कांग्रेसले यो पटकको अभियानमा सामाजिक विकृतिका मुद्दालाई पनि उठाउने बताएको छ । यस्तै, जागरण अभियानका क्रममा कांग्रेसले शहीद परिवार र द्वन्द्व पीडितसँग पनि अन्तर्क्रिया गर्ने तय गरेको छ ।

पहिलो चरणको अभियान तल्लो तहसम्म पार्टीको अवस्था कस्तो छ भनेर बुझ्नका लागि गरेको भए पनि यस पटकको अभियान भने कांग्रेसले समग्र विषयमा पार्टीको धारणा स्पष्ट पार्न अभियान अघि बढाउन खोजेको छ । यस पटकको अभियान पहिलो चरणको भन्दा छरितो र अन्तर्क्रियात्मक हुने पार्टी प्रवक्ता शर्माले बताउनुभयो ।

बोल्ने कम, सुन्ने बढी

मंगलबारदेखि सुरु हुने अभियानमा केन्द्रबाट खटेर जाने प्रतिनिधिले बढी नबोल्ने रणनीति तय गरेको छ । हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने अभियानका क्रममा त्यहाँका नेता कार्यकर्तासँग अन्तर्क्रिया गरेर उनीहरुका कुराहरु बढी सुन्ने र केन्द्रीय प्रतिनिधि कम बोल्ने छन् ।  यस्तो गर्दा स्थानीय नेता कार्यकर्तासँगको सम्बन्ध प्रगाढ हुने र पार्टी सुदृढ गर्न कार्यकर्ता स्तरबाट आएका सुझाव सहयोगि हुने कांग्रेसले विश्वास लिएको छ । 

यस्तै अभियानको औपचारिक कार्यक्रम पनि लम्बेतान बनाइने छैन । पार्टी प्रवक्ता शर्माका अनुसार अभियानका औपचारिक कार्यक्रम छरितो हुने र वक्ता सीमित सँख्या तथा बढी अन्तर्क्रियात्मक हुनेछ ।   
अभियानका क्रममा कांग्रेसले समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका नागरिकसँगसमेत अन्तर्क्रिया गर्नेछ । उनीहरुको सरकारसँगको अपेक्षा, आजको समयमा देखिएको परिणाम, अनुभूति र आजको अवस्थामा कांग्रेससँगको अपेक्षाका विषयमा अन्तर्क्रिया गरिने तय गरेको छ । 

केन्द्रीय तहबाट अभियान क्रममा हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा एउटा मात्रै सभा निर्धारित गरिएको भए पनि सम्भव भएसम्म स्थानीय तहमा वडास्तरीय सामाजिक संवाद कार्यक्रमहरू गर्ने रणनीति अघि सारेको छ । असोज ७ गते अभियानको अन्तिम दिन भने कांग्रेसले जिल्लास्तरीय विरोध प्रदर्शनको कार्यक्रम गर्ने तय गरेको छ ।

अन्तिम दिन असोज ७ गते बढ्दो महङ्गी, भ्रष्टाचार (वाइडबडी, न्यारोबडी प्रकरणलगायत), बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभाको कार्यक्रम तय गरेको छ । 

विदेशबाटै मतदान अधिकारको माग

यस्तै कांंग्रेसले विदेशमा रहेका नेपालीले त्यहीबाटै मतदानको अधिकार व्यवस्थापन गर्नुपर्ने माग पनि अभियानका क्रममा उठाउने भएको छ । अभियानका क्रममा नेपाली जनसम्पर्क समितिहरूले विदेशमा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै राजदूतावास र कन्सुलेटमार्फत सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेश गर्ने कार्यक्रम तय गरेको छ । 

अहिले मतदानका बेला विदेशमा रहेका नागरिकले मत दिनबाट बञ्चित हुँदै आएका छन् । नोट चल्ने भोट नचल्ने भन्दै विदेशमा रहेका नेपालीले विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन पटक पटक माग गर्दै आइरहेका छन् । 

संविधान दिवसमा दीप प्रज्वलन

कांग्रेसले सञ्चालन गर्ने जागरण अभियानकै बीचमा संविधान दिवस परेको छ । असोज ३ गते पर्ने संविधान दिवसका दिन नेपालको संविधान निर्माणमा ‘कांग्रेसले गरेको नेतृत्व, संविधानका विशेषता र आजको दायित्व विषयक’ कार्यक्रम (अन्तर्क्रिया या विचार गोष्ठी) प्रदेशसभा कार्यसमितिले  आयोजना गर्ने कार्यक्रम पनि तय गरेको छ ।

यस्तै त्यही दिन साँझ सबै गाउँ–नगरका चोक बजारमा दीप प्रज्वलन गरेर संविधान दिवस भव्यताका साथ मनाउने तयारी पनि कांग्रेसले गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया