विक्रम ल्याण्डर पत्ता लाग्यो, सम्पर्क गर्ने प्रयास जारी छ : इसरो प्रमुख सिवन

 भदौ २२, २०७६ आइतबार १६:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख डा. के सिवनले आइतबार चन्द्रयान-२ को ल्याण्डर विक्रम चन्द्रमाको सतहमा भएको पत्ता लागेको बताएका छन् । 

सिवनले भने, ‘ल्याण्डर विक्रम चन्द्रमाको सतहमा भएको पत्ता लागेको छ ।’ ‘तीव्र गति (हार्ड) को ल्याण्डिंगको कारण त्यसमा क्षति पुगेको सवालमा सिवनले भने, ‘यसको बारेमा हामीलाई थाहा छैन ।’ अर्बिटरले ल्याण्डरको तस्बिर पनि खिचेको सिवनले बताए । 

उनले भने– विक्रम मोड्यूलसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी छ र चाँडै नै यसको बारेमा जानकारी दिइनेछ ।’ यद्यपि सिवनले सञ्चारमाध्यमसँग अहिले तत्कालै केही भन्नु हतार हुने बताएका छन् । 

इसरोद्वारा चन्द्रमाको सतहमा चन्द्रयान-२ विक्रम ल्याण्डरको ‘सफ्ट ल्याण्डिंग’ शनिबार आफ्नो योजनाअनुरुप हुन पाएन । 

ल्याण्डरलाई गएको शुक्रबार राति झण्डै १ बजेर ३८ मिनेट जाँदा चन्द्रमाको सतहमा उतार्ने प्रक्रिया सुरु भएको थियो । तर २ दशमलव १ किलोमिटर वर नै जमिनको स्टेशनसँग यसको सम्पर्क टुटेको थियो । 

यदि भारतले यो उपलब्धि हासिल गर्न सकेमा रुस, अमेरिका र चीनपछि ऊ चन्द्रमामा आफ्नो अन्तरिक्ष यान पठाउने चौँथो राष्ट्र बन्नेछ । इसरो अधिकारीहरुका अनुसार चन्द्रयान-२ को अर्बिटर पूर्णरुपमा सुरक्षित र सही छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया