किर्गिस्तानविरुद्ध नेपाल ८-२ ले विजयी, सावित्रा एक्लैले गरिन् ४ गाेल

 भदौ २२, २०७६ आइतबार १८:१५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

किर्गिस्तानमा जारी 'नादेज्दा कप' महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । 

आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८-२ गोल अन्तरले हरायो । नेपालका लागि नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा ४ गोल गरिन् । 

किर्गिस्तानविरुद्ध नेपाली महिला टिमले दोस्रो मिनेटमा नै गोलको मौका पाएको थियो । सावित्रा भण्डारीले गरेको हेडको प्रयास पोस्टमाथिबाट बाहिरियो ।

तर खेलको तेस्रो मिनेटमा सावित्राकै गोलमा नेपालले अग्रता बनायो । किर्गिस्तानको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै सावित्राले गोल गर्न सफल भइन् ।

१३ औँ मिनेटमा फेरि सावित्राले नै वन भर्सेस वनको मौका पाएकी थिइन् तर उनलाई गोलकिपरले रोक्न सफल भइन् । त्यसको एक मिनेटपछि नेपालले दोस्रो गोल गर्‍यो । नेपालका लागि फेरि पनि सावित्राले नै गोल गरिन् । उनले गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै गोल गरिन् ।

तर नेपालको अग्रता केहीबेर पनि टिक्न सकेन । किर्गिस्तानले ५ मिनेट भित्रमा दुई गोल फर्काउन सफल भयो । किर्गिस्तानले दुवै गोल नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गर्‍यो ।

तर २५ औं मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो । नेपालका लागि दिपा राईले उत्कृष्ट गोल गर्न सफल भइन् । २९ औं मिनेटमा नेपालले चौँथो गोल गर्‍यो । नेपालका लागि सावित्रा भण्डारीले डिबक्स भित्रबाट गोल गरिन् । योसँगै उनले व्यक्तिगत ह्याट्रिक पनि पूरा गरिन् । त्यसपछि ३५ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई पाँच दुईको अग्रता दिलाइन् । 

३६ औँ मिनेटमा नेपालले किर्गिस्तानको पोस्टमा छैँटौ गोल गर्‍यो । नेपालका लागि कप्तान निरु थापाले गोल गरिन् । पहिलो हाफमा ६-२ को अग्रता बनाएको नेपाली महिला टिमले ५४ औं मिनेटमा सातौं गोल थप्यो । नेपालका लागि सावित्राले नै फ्रिकिक मार्फत उत्कृष्ट गोल गरिन् । त्यो उनको व्यक्तिगत चौँथो गोल बन्यो । 

अन्तिममा अनिता बस्नेतले एक गोल थपेपछि नेपालले ८-२ को जित निकाल्यो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया