नेपालमा नसर्ने रोगको जाेखिम बढ्दाे

 भदौ २२, २०७६ आइतबार १८:३:३४ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - नेपालमा नसर्ने रोगको खतरा दिनप्रतिदिन बढ्दै गएकाले बेलैमा ध्यान पुर्‍याउन विज्ञहरूले सुझाव दिएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र द युनियनले काठमाण्डौमा गरेको कार्यक्रममा उनीहरूले नसर्ने रोगविरुद्ध लड्न ‘एक्सन लिनुपर्ने’ बेला आएको बताएका हुन्।

नसर्ने रोग नियन्त्रण गर्नका लागि पैरवी बैठक कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले विकसित मुलकहरूमा नसर्ने रोग कम हुँदै गएको भन्दै नपालमा भने यसविरुद्ध काम नै सुरु हुन नसकेको बताउनु भयो । ‘अब पनि यसविरुद्ध काम नगरे अबको १० वर्षमा नसर्ने रोग भयावह भएर थेग्नै नसकिने अवस्थामा पुग्नेछ’, उहाँले भन्नुभयो ।

उहाँले समयमै नसोच्ने हो भने यसलाई नियन्त्रण गर्न गाह्रो हुने दावी गर्नुभयो ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले नसर्ने रोगमध्येकै असाध्यै बढिरहेको क्यान्सर रोग नियन्त्रण गर्न आफूले सक्दाे प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय क्यान्सरबाट बेलैमा सचेत भएर बच्न सकिने भएकाले त्यसतर्फ पनि सोच्नुनैमा जोड दिनुभयो । 

यसैगरी मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले ‘साइलेन्ट किलर’को रुपमा रहेको मधुमेहले युवा अवस्थामै गाँज्न थालेको भन्दै नियन्त्रणका लागि सरकारी स्तरबाटै कार्यक्रम आउनुपर्ने बताउनुभयो । उहाँले अब सुर्तीजन्य पदार्थमा मात्र नभइ चिनीजन्य पेय पदार्थमा पनि कर बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले अव्यवस्थित जीवनशैलीका कारण नसर्ने रोग बढेको भन्दै पहिले आफैँलाई सुधार्नुपर्ने बताउनुभयो । ‘आधुनिक हुने नाममा चुरोट र मदिरामा लत पार्ने, ‘फास्ट फुड’ मन पराउने, विलासी भएर एक पाइला हिँड्न नखोज्नेजस्ता बानीले नसर्ने रोगलाई बढावा दिइरहेको उहाँको दावी छ ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख महेन्द्र प्रसाद श्रेष्ठ, मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंह, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशी, राष्ट्रिय स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया