प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
माेरङ - विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बनाउने बारेमा डीपीआर स्वीकृत नभएको बारेमा बनेको संघर्ष समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेको छ।
विमानस्थल स्तरोन्नतिका लागि दबाब दिन विराटनगरबाट काठमाण्डौ पुगेको टोलीले मन्त्री भट्टराईसँग भेटेर तत्काल डीपीआर स्वीकृत गरी क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन दबाब दिएको हो ।
विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन संघर्ष समितिको तर्फबाट गएको टोलीमा पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद शिवकुमार मण्डल, संघर्ष समितिका संयोजक पुण्य भट्टराई, सह संयोजक फडिन्द्र अधिकारी, सदस्य सचिव देवी गौतम (रविन) संघर्ष समितिका सल्लाहाकार राजेन्द्र राउत, भोगेन्द्र यादव, पारुल क्षेत्री र जीतेन्द्र ठाकुर हुनुहुन्थ्याे ।
टोलीसँगको भेटमा विराटनगर विमानस्थलको डीपीआर निर्माणको काम लगभग ९५ प्रतिशत सकिएको बताउँदै असोज १५ भित्र विराटनगरमा डीपीआर सार्वजनिक गर्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाउनु भएको संघर्ष समितिका संयोजक भट्टराईले जानकारी दिनुभयाे ।
डीपीआर अस्वीकृत भएको समाचार सार्वजनिक भएसँगै मन्त्री भट्टराईलाई काम सुरु गर्न विराटनगरबाट दबाब पर्दै आएको छ । विराटनगर विमानस्थलपछि डीपीआर भएको नेपालगञ्ज विमानस्थलको डीपीआर स्वीकृत भएर पनि बजेट विनियोजन भइसकेको छ।
शनिबार मात्र विराटनगरमा संवाद समूहले गरेको संवादमा सरोकारवालाहरुले प्रदेश र संघबीच समन्वय नहुँदा विराटनगर विमानस्थल व्यवस्थापनमा समस्या भएको बताएका थिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै माग लिएर आउन संघर्ष समितलिाई आग्रह गर्नुभएकाे थियाे ।