सलमान खान भन्छन् : सल्लुबाट भाइजान बन्न धेरै लामो समय लाग्यो

 भदौ २३, २०७६ सोमबार १४:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

सलमान खानले सन् १९८८ मा चलचित्र ‘बीवी हो तो ऐसी’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । तर त्यो चलचित्र बक्स अफिसमा फ्लप भएको थियो । 

त्यसपछि सन् १९८९ मा प्रदर्शनमा आएको चलचित्र ‘मैने प्यार किया’ ले भने सलमानको भाग्य चम्कियो । र यहाँसम्म आइपुग्दा सलमान खान बलिउड चलचित्र उद्योगका सबैभन्दा सफल अभिनेताहरु मध्येका एक बनिसकेका छन् । 

सलमानले हालै इण्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको पत्रकार सम्मेलनमा आफूले प्राप्त गरेको सफलता, दर्शक तथा शुभचिन्तकको साथ र सहयोग कसरी पाए भन्नेबारे बताएका छन् । 

सलमानले भने, ‘मेरा फ्यान र मबीच एक विशेष सम्बन्ध छ । चलचित्र ‘मैने प्यार किया’ देखि आजसम्म म र मेरा फ्यानहरुबीच एक छुट्टै खालको लगाव छ । मेरा चलचित्रहरु हिट हुन् वा फ्लप हुन्, उनीहरु सदैव मसँग नै हुन्छन् ।’

उनले आफ्नो तीन दशक लामो चलचित्र करियरमा पाएको सफलताका बारेमा भने, ‘मलाई यस उद्योगमा काम गरेको ३० वर्ष पूरा भैसक्यो । पहिले मलाई फ्यानहरु ‘सल्लु’, ‘सल्ले’, ‘सलमान’, ‘बन्टाइ’ जस्ता नाम दिन्थे र अहिले उनीहरु मलाई ‘भाइ’ वा ‘भाइजान’ भनेर बोलाउँछन् । यो सफलता प्राप्त गर्न धेरै समय लाग्यो । मेरो यो सफलता र मेरा फ्यानहरुप्रति म धेरै खुशी छु ।’ 

सलमान खान पछिल्लो पटक चलचित्र ‘भारत’ मार्फत दर्शकमाझ आएका थिए । अहिले उनी ‘दबंग ३’ को छायाँकनमा व्यस्त छन् । यसअघिका चलचित्र ‘दबंग’ र ‘दबंग २’ मार्फत ‘चुलबुल पाण्डे’ बनेर बलिउडमा तहल्का मच्चाएका सलमान फेरि एक पटक ‘चुलबुल पाण्डे’ बनेर दर्शकमाझ आउने तयारीमा छन् । सलमान ‘दबंग ३’ का अभिनेतासँगै सह–निर्माता पनि हुन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया