नादेज्दा कप : उज्बेकिस्तानसँग नेपाल २-० ले पराजित

 भदौ २३, २०७६ सोमबार १३:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले उज्बेकिस्तानसँग २-० ले पराजित भएको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातमा नेपाली टिमले केही दबाब दिएको थियाे । पहिलो खेलमा किर्गिस्तानलाई आठ-दुईले पराजित गरेको नेपाल उज्बेकिस्तानविरुद्ध भने केही दबाबमा देखियो ।

सुरुवाति १० मिनेट केहि दबाबमा देखिएको नेपालले त्यसपछि आफ्नो पकड जमाएको थियो । जसमा उसले दुई वटा सुन्दर गोलको अवसरलाई गुमायो । २४ औं मिनेटमा सावित्रा भण्डारीले पाएको मौका खेर फालिन् भने ३१ औ मिनेटमा पनि उनको प्रहारलाई गोलकिपरले बचाइन । तर ३४ औं मिनेटमा उज्बेकिस्तानले खेलमा अग्रता बनायो । उसका लागि काराजितले गोलकिपर आफ्नो पोजिसनमा नभएको र डिफेन्डरबीच तालमेल नमिलेको फाइदा उठाउँदै गोल गरिन् । त्यसपछि ४१औँ मिनेटमा नेपालले फ्रिकिक पाएको थियो । त्याे प्रहार पोस्ट माथिबाट बाहिरियो ।

४५ औं मिनेटमा उज्बेकिस्तानको अर्को प्रहारलाई नेपाली गोलकिपरले बचाइन् । त्यसपछि पहिलो हाफको अन्तिममा फेरि उज्बेकिस्तानको आक्रमणलाई नेपालको डिफेन्स लाइनले बचायो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्बेकिस्तानले ५० औं मिनेटमा दोस्रो गोल गर्‍याे । यस पटक उसका लागि सफिना रुस्खानीयाले गोल गर्न सफल भइन् । उनले डिबक्स बाहिरबाट गरेको प्रहारलाई नेपाली गोलकिपरले रोक्न सकिनन् ।

५७ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीको फ्रिकिकलाई उज्बेकिस्तानकी गोलकिपरले रोकिन । त्यसपछि ५९ औं मिनेटमा उज्वेक टिमले अर्को सुन्दर मौका पाएको थियो । नेपाली गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै प्रहार गरेको बललाई नेपाली डिफेन्सले मुस्किलले बचायो ।

६५ औं मिनेटमा नेपालकी अनिता बस्नेतले पाएको मौकालाई सही ठाउँमा पार्न सकिनन् । त्यसपछि पनि नेपालले खेलमा फर्कन धेरै प्रयास गरेको थियो तर गोल गर्न सकेन । जसका कारण नेपालले दुई-शून्यको हार व्यहाेर्‍यो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया