प्रदेश १ सरकारको गौरवको आयोजना : विराटचोक–घिनाघाट सडक चार लेन बनाइने

 भदौ २३, २०७६ सोमबार १६:४२:१९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटचोक-घिनाघाट सडकखण्ड चार लेनको बनाइने भएकाे छ । प्रदेश १ सरकारको पहिलो गौरवको आयोजनाको रुपमा २२ दशमलव  ७ किलोमिटरको सडकलाई चार लेनको सडकको रुपमा निर्माण गर्न लागिएको हो ।

सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा एक कार्यक्रमका बीच सडकको शिलान्यास गर्नुभएको हो । १ अर्ब ४० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सोमबारदेखि काम सुरु भएको हो । 

तीन प्याकेजमा निर्माण सम्पन्न गर्नेगरी २ प्याकेजमा ठेक्का सम्झौता भैसकेको छ । गएको असार २९ गते भएको ठेक्का सम्झौताअनुसार निर्माणको काम श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण निर्माण सेवाले गर्नेछन् ।

निर्माण कम्पनीले  २०७८ असार मसान्तभित्रमा काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले जानकारी दिनुभयो । 

सम्झौता भए पनि अहिले निर्माण सामग्री गिट्टी र बालुवाको उत्खननमा रोक लागेको हुनाले असोज १ गतेदेखि कामले गति लिने श्रेष्ठले बताउनु भयो । १ अर्ब ६० करोडको टेण्डर आह्वान गरिएकोमा १ अर्ब ४० करोडको ठेक्का स्वीकृत भएपछि सडक शिलान्यास भएको हो । सडकको केन्द्रबाट ३५-३५ फिट दुईतर्फ बढाएर सडक विस्तारको काम हुनेछ ।

मुख्यमन्त्री शेरधन राईले  प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सुरु भएको सडक प्रदेशकै नमुना बन्ने स्पष्ट पनि पार्नुभयो ।

मुख्यमन्त्री राईले नयाँ संरचना र नयाँ व्यवस्थामा सञ्कुचित सोच र साँघुरो  सोचाइको घेराबाट माथि उठ्नु पर्ने बताउनु भयो । त्यही घेरालाई तोड्दै सरकारले नयाँ संरचना र विकासका कामलाई अगाडि बढाएको उहाँले दावी गर्नुभयो । 

चार लेनको सडक निर्माणले मोरङका दुई पालिकालाई मात्र नभइ झापा, इलाम, पाँचथर र ताप्लेजुङसम्मलाई सुविधा पुग्ने मुख्यमन्त्री भट्टराईले बताउनुभयो । अब बन्ने सडक प्रदेशको नमुना सडक हुने भन्दै त्यसका लागि गुणस्तर र निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । 

‘गुणस्तरमा 'कम्प्रोमाइज' हुँदैन । यदि लापर्वाही गरे त्यसको परिणाम भोग्न ठेकेदार कम्पनी तयार हुनुपर्छ । शिलान्यास भएको सडक गुणस्तर र फराकिलो हुन्छ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया