२४औँ विश्व ऊर्जा सम्मेलनमा सहभागी हुन ऊर्जा मन्त्री पुन यूएईमा

 भदौ २३, २०७६ सोमबार १७:१७:११ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – वर्ल्ड इनर्जी कंग्रेसको २४औँ विश्व सम्मेलनमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ यूएई आउनु भएको छ ।

सोमबारबाट आबुधाबीको प्रदशनी सेन्टरमा हुने विभिन्न देशका मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री पुनको नेतृत्वमा ५ सदस्यीय टोली यूएई आएको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

सम्मेलनमा मन्त्री पुनसहित मन्त्रालयका सहसचिव प्रविनराज अर्याल, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, सहभागी हुने कार्यक्रम छ । बेलायतमा भएको वर्लड इनर्जी काउन्सिलको आयोजनामा यस पटक आबुधावीमा हुन लागेको सम्मेलनमा बेलायतका लागि नेपाली राजदूत दुवसु क्षेत्री समेत सहभागी हुनुहुन्छ ।

सम्मेलनमा ७० देशका ऊर्जा मन्त्रीहरुको सहभागिता हुनुको साथै विश्भरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ताहरु सहभागी हुँदै छन् । १ सय ५० देशको सहभागिता रहने सम्मेलनमा तेल, ग्यास, जलविद्युत, पूर्वाधार, ऊर्जा उत्पादन, वैकल्पिक उर्जा, नवीकरणीय उर्जा र ग्रिड प्रविधिको विषयमा छलफल हुनेछ ।

ऊर्जा शक्ति उत्पादनमा नेपालले प्रचुर सम्भावना बोकेकोले विश्वमा भैरहेको ऊर्जा संकट रोक्न नेपालमा लगानी भित्राएर ऊर्जा उत्पादन गर्न सकिने भएकाले सम्मेलनलाई नेपालले महत्वपूर्ण रुपमा लिएको छ । विश्वमा देखिएको ऊर्जा संकट तथा ऊर्जा उत्पादनमा प्रचुर सम्भावना भएकाले नेपालको सहभागितालाई अन्य देशले अर्थपूर्ण मानेका छन् ।

मन्त्री पुन बिहीबार नेपाल फर्किने कार्यक्रम रहेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया