देवः विकास बैंक नारायणपुर शाखाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका ३ जना छुटे

 भदौ २३, २०७६ सोमबार १८:३३:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नारायणपुरमा रहेको देव: विकास बैंक नारायणपुर शाखाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका तीन जना सोमबार छुटेका छन् । 

प्रहरीको हिरासतमा रहेका उज्ज्वल आचार्य, टोपेन्द्र पोखरेल र बसन्त बुढाथोकी सोमबार छुटेका हुन् । अनुसन्धानमा तीनै जना दोषी नदेखिएपछि उनीहरुलाई छोडिएको जिल्ला प्रहरी कार्यालय दाङका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभयो । 

भदौको पहिलो हप्ता देव: विकास बैंकको रकम हिनामिना गरेको सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङले तीन जनालाई हिरासतमा लिएको थियो ।

तत्कालीन वेस्टर्न डेपलभमेन्ट बैंकको १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा खाता खोलेका ११ जना पक्राउ परेका थिए । ११ जनामध्ये ३ जनालाई सोमबार छोडिएको हो । घटनाका बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

बैंकको रकम हिनामिना गरेको आरोपमा बैंकका शाखा प्रमुख समीर बुढाथोकीलाई मुख्य आरोपित भएको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो र राष्ट्र बैंकको सहयोगमा अहिले रकम हिनामिनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया