नेपाल-भारत पेट्राेलियम पाइपलाइनकाे उद्घाटन मंगलबार, ऊर्जा सुरक्षा बढाउने भारतीय प्रधानमन्त्रीकाे भनाइ

 भदौ २३, २०७६ सोमबार १८:५१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी छ ।  

उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको र मंगलबार दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गर्नुहुने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो ।

दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गर्नुहुनेछ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार ट्वीट गर्दै मंगलबार दक्षिण एसियाकै पहिलो मोतिहारी–अमलेखगञ्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सिङमार्फत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्न लागेको जानकारी दिनुभएको छ ।  

नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले दिउँसो १२ः१५ मा इलेक्ट्रिक स्विच थिचेर उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन सुरु हुने छ । दुवै देशका प्रधानमन्त्रीले इलेक्ट्रिक स्विच थिचेर गर्ने उद्घाटनको निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पाेरेशनको मोतिहारी डिपोबाट स्क्रिनमा प्रत्यक्ष रुपमा हेर्नसक्ने व्यवस्था समेत मिलाइएको छ ।  

२०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार पाइपलाइन निर्माण भएको हो । पाइपलाइनको २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर शिलान्यास गरिएको थियो ।  

७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । अहिलेसम्म भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।  

पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने निगमले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया