युराे कप छनाेट : नेदरल्याण्ड्स, बेल्जियम र जर्मनीकाे प्रभावशाली जित

 भदौ २४, २०७६ मंगलबार ७:५२:२९ | एजेन्सी
unn.prixa.net

युरो कप छनोटअन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियम र नेदरल्याण्ड्सले ठूलो अन्तरको जित हात पारेका छन् । बेल्जियमले स्कटल्याण्डलाई ४–० ले हरायो भने नेदरल्याण्ड्सले इस्टोनियालाई पनि ४–० ले नै हरायो ।

स्कटल्याण्डको मैदानमा भएको खेलमा केभिन डी ब्रुयनले उत्कृष्ट प्रदर्शन गरे । उनले तीनवटा एसिस्ट र एक गोल गरेका थिए । नवौं मिनेटमा रोमलु लुकाकुले गोल गरेका थिए । २४औं मिनेटमा थोमस भर्मालिनले र ३२औं मिनेटमा टोबी एल्डरवेरल्डले गोल गर्दा पहिलो हाफअघि बेल्जियमले तीन गोलको अग्रता लिएको थियो ।

यी तीनवटै गोलमा केभिन डी ब्रुयनको एसिस्ट थियो । ८२औं मिनेटमा डि ब्रुयनले लुकाकुको पासमा गोल गर्दै बेल्जियमलाई ४–० को जित दिलाए ।

अर्को खेलमा नेदरल्याण्ड्सले इस्टोनियालाई ४–० ले नै हरायो । इस्टोनियामा भएको खेलमा नेदरल्याण्ड्सका लागि रायन बाबेलले दुई गोल गरे भने मेम्फिस डिपेले दुई एसिस्ट र एक गोल गरेका थिए ।

१७औं मिनेटमा बाबेलले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमा बाबेलले नै नेदरल्याण्ड्सको अग्रता २–० मा लम्ब्याए । ७६औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई ३–० को अग्रता दिलाए । ८७औं मिनेटमा जर्जिनो विनाल्डमले गोल गरेपछि नेदल्याण्ड्सले ४–० को जित निकालेको हो ।

त्यस्तै जर्मनीले उत्तरी आयरल्याण्डलाई हराएको छ ।  उत्तरी आयरल्याण्डमा भएको खेलमा जर्मनीले दोस्रो हाफमा दुई गोल गर्दै जित हात पारेको हो । जर्मनीको जितमा मार्सेल हाल्स्टेनबर्गले ४८औं मिनेटमा र सेर्जी ग्नाब्रीले इन्ज्युरी समयमा गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया