नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०६ औँ जन्मजयन्ती मनाइँदै

 भदौ २४, २०७६ मंगलबार ९:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

बीपी जयन्तीको पूर्वसन्ध्यामा सोमबार दाङको तुलसीपुरमा बीपीको शालिक अनावरण गरिँदै । तस्बिर : हेमराज शर्मा

काठमाण्डौ – नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १ सय ६ औँ जन्मजयन्ती मंगलबार मनाइँदैछ । बीपीको सम्झनामा कांग्रेसले मंगलबारदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ ।

२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । तर उहाँ नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागु गर्नुभएको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मनु भएको हो । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो ।

बीपीको अगुवाइमा २००७ सालको क्रान्ति सफल भएको थियो । राणा शासनको विरोध गर्दै गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि बुवा कृष्णप्रसाद कोइराला भारत निर्वासनमा जानुपरेको थियो । भारतमै रहँदा उहाँले भारतीय स्वतन्त्रता संग्राममा पनि भाग लिनुभयो । तर, भारतमा रहेर प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको निष्कर्षसहित उहाँ २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको थियो ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । उहाँको मोदी आइन, हिटलर र यहुदी, बाबुआमा र छोरा, सुम्निमालगायतका कृतिहरु चर्चित छन् । बीपी कोइरालाको निधन २०३९ साल साउन ६ गते भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया