नेपाल भ्रमणमा छिट्टै आउँछु : भारतीय प्रधानमन्त्री मोदी

 भदौ २४, २०७६ मंगलबार १३:७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू छिट्टै नेपालको भ्रमणमा आउने बताउनुभएको छ ।

अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सिङमार्फत मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै उहाँले नेपाल भ्रमणमा आउन आफू पनि आतुर रहेकाले समय मिलाएर छिट्टै नेपाल भ्रमणमा आउने बताउनुभयो ।

उहाँले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणालाई महत्वपूर्ण लिएको र नेपाल भ्रमणमा आउने आफ्नो पनि इच्छा रहेको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘तपाईँले मलाई फेरि एक पटक नेपाल भ्रमणमा आउन निमन्त्रणा दिनुभएको छ । मैले यो कुरालाई निकै महत्वपूर्ण लिएको छु । नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ ।’

यस्तै उहाँले नेपालको प्राथमिकताका अनुसार नेपालको विकासमा सहयोगका लागि भारत सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो ।  उहाँले नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताउँदै यसले क्षेत्रीय ऊर्जा सुरक्षामा सहयोग पुर्याउने बताउनुभयो ।

साथै उहाँले प्रधानमन्त्री केपी ओलीले भिडियो लिङ्कमार्फत आफूसँग जोडिन समय निकालेकोमा खुसी पनि व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै उहाँको सक्रियता निरन्तर नेपाल भारतबीचको सम्बन्धलाई जोड्न अघि बढोस भन्ने शुभकामना पनि दिनुभयो ।  उहाँले भन्नुभयो, ‘म हमेसा तपाईँको उत्तम स्वास्थ्य, अभुतपूर्व सक्रियता र भारत नेपालको सम्बन्ध अझ बाबजुद बनाउनका लागि हर प्रकारले बहुत बहुत सुभकामना व्यक्त गर्दछु ।’

साथै प्रधानमन्त्री मोदीले मन्तव्य टुंग्याउँदै नेपाली भाषामा नै धेरै धेरै धन्यवाद भन्न पनि भ्याउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ, प्रकृतिको काखमा म छिट्टै आउने प्रयास गर्ने छु । तपाईँहरु सबैलाई धेरै धेरै धन्यवाद ।’

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया