चिनियाँ विदेश मन्त्री स्वदेश प्रस्थान

 भदौ २४, २०७६ मंगलबार १४:५८:३६ | रासस
unn.prixa.net

चिनियाँ विदेशमन्त्री वाङ यी मङ्गलबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्दै । तस्बिर : नवीन पौडेल

काठमाण्डाै - चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलगायतले बिदाइ गर्नुभयो ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा  नेपाल भ्रमणमा आउनुभएका विदेश मन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे विचारविमर्श गर्नुभएको थियो ।

त्यसअघि दुवै देशका परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मन्त्री ज्ञवालीले विदेश मन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना पनि गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया