अख्तियारले माग्यो डोटीका नौ पालिकासँग गाडी खरीदसम्बन्धी कागजात

 भदौ २४, २०७६ मंगलबार १६:२३:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयको डोटीका नौ वटा पालिकाहरुसँग गाडी खरीदसम्बन्धी कागजपत्र माग गरेकाे छ ।

यहाँका पालिकाहरुले आफूखुशी धमाधम गाडी किनेको समाचार सञ्चारमाध्यममा आएपछि आयोगले डोटीका सबै स्थानीय तहहरूसँग गाडी खरीदसम्बन्धी कागजपत्र पेश गर्न माग गरेको हाे ।

आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले स्थानीय तहहरूले गाडी खरिद गरेको बारेमा धेरै उजुरी आएकाले खरीद प्रक्रियासँग सम्बन्धित कागजपत्र माग  गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, गाडी खरिदको विषयमा उजुरी परेपछि हामीले कागजात मागेका छौँ, केही पालिकाहरुले कागजपत्र बुझाइ पनि सकेका छन्, केहीले अब बुझाउँछन् होला ।

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका पालिकाहरूले २०७४ साल साउनदेखि २०७५ साल पुस मसान्तसम्म १० करोड ९३ लाख ८६ हजार रुपैयाँ मूल्यका गाडी खरीद गरेका छन् ।

डोटीको जिल्लाको पूर्विचौकी गाउँपालिकाले गाडी खरिदमा सबैभन्दा बढी २ करोड ६७ लाख ५५ हजार रुपैयाँ खर्च गरेको छ ।१० ओटा मोटरसाइकल, पिकअप जीप, एक्स्क्याभेटर र दुई वटा बस खरिदमा त्यति रकम खर्च भएकाे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

त्यस्तै शिखर नगरपालिकाले १ करोड ५४ लाख २९ हजार रुपैयाँ, दिपायल सिलगढी नगरपालिकाले १ करोड ६ लाख ८७ हजार रुपैयाँ, बडीकेदार गाउँपालिकाले १ करोड ८१ लाख ७९ हजार रुपैया खर्च गरेको देखिएको छ । त्यसैगरी सायल गाउँपालिकाले १ करोड ५६ लाख १६ हजार रुपैयाँ, केआईसिँह गाउँपालिकाले ९३ लाख ८२ हजार, बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार, जोरायल गाउँपालिकाले रु ५८ लाख ३८ हजार तथा आदर्श गाउँपालिकाले ५७ लाख २२ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

पालिकाहरूले खरिद गरेका एउटै कम्पनी तथा एउटै खालका गाडीहरुकाे मूल्य भने फरक फरक रहेको पाइएपछि अख्तियारमा उजुरी परेको हो । जनताको विकासका लागि आएको बजेट स्थानीयतहका जनप्रतिनिधिले आफूखुशी गाडी किन्नमै खर्च गरेकोमा स्थानीयहरु निकै आक्रोशित छन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया