मुरीका मुरी धान फल्ने खेत बाँझै हुने चिन्ता

 असार २९, २०७५ शुक्रवार १५:२८:११ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङ बेसीशहर–३, रानीकुवाका कुलप्रसाद घिमिरेको रानीकुवामै ३ रोपनी ३ आना खेतीयोग्य जमिन छ । रोप्नका लागि बीउ तयार छन् । खेतमा पुग्दो पानी पनि छ । तर खेताला नपाउँदा उहाँले असार सकिन लाग्दा समेत रोपाईँ गर्न सक्नुभएको छैन ।

‘ब्याडमा बीउ हुर्किसकेको छ । रोप्नका लागि पानी पनि छेलोखेलो छ । तर खेताला नपाउँदा रोपाईँ हुन सकेको छैन,’ उहाँले दुःखेसो पोख्नुभयो । खेताला नपाउँदा वर्षेनि रोप्दै आएको, मुरीका मुरी धान फल्ने खेत बाँझै हुने चिन्ताले उहाँको मन भतभती पोलेको छ । उहाँले १२ वर्षको उमेरदेखि नै खेतीपातीमा लाग्नुभयो ।

सानै उमेरबाटै उहाँले हलगोरु चलाउने, कोदोबारी खन्ने, आली लगाउने लगायतका काम गर्नुभयो । अहिले उहाँ ७० वर्षको हुनुभयो । नयाँ पुस्ता खेतीपातीको काममा सरिक नभएको देख्दा उहाँलाई नरमाइलो लाग्छ ।    

हराए रैथाने धान 

‘मैले सानै उमेरदेखि खेतबारीको काम गर्न थालेको हुँ । गाउँमा हुँदा वर्षैपिच्छे ९ मुरी कोदो, ३५ मुरी धान भित्र्याउँथे । अहिले त उमेर ढल्किँदै गयो । उबेला जसरी काम गर्न त सक्दिन । तर अलिअलि काम त अझै पनि गर्छु,’ उहाँले भन्नुभयो, ‘अहिलेका मान्छेले त खेती गर्नै छाडे ।’   

केही वर्षअघि उहाँले खेतमा स्थानीय जातका धान लगाउनुहुन्थ्यो । ‘एक्ले, छोटे, नौले, मन्सरा लगायतका रैथाने जातको धान लगाईन्थ्यो,’ २० वर्षअघि फर्कँदै उहाँले भन्नुभयो ।’

उहाँका अनुसार अहिले त अनेकथरी धानका जात आएका छन् । धेरै फलाउने आशमा किसानले उन्नत जातका धान लगाउँछन् । रैथाने धान त हराईसके ।

युवा परदेश, खेतबारी बाँझै

पछिल्लो समय युवापुस्ता विदेशिएको, खेतीपाती नगरी खेतबारी बाँझै राखेको, हरेक चीज बजारबाटै खरीद गरी उपयोग गरेकोमा घिमिरेलाई राम्रो लाग्दैन ।

‘अहिले धेरै युवा परदेश हानिएका छन् । गाउँघरमा बुढापाका मात्रै छन् । खेती गर्नको लागि आवश्यक जनशक्ति पाईंदैन ।

त्यसैले खेतबारी बाँझै छन् । हामीमा हरेक चीज बजारबाटै किनेर खाने बानी भईसकेको छ,’ उहाँले भन्नुभयो ।

ज्याला महँगो       

खेताला पनि नपाईने र पाईएका खेतालाको ज्याला पनि महँगो हुँदा किसान चिन्तित छन् । अहिलेको चलनचल्तीमा हलीगोरुको दिनकै २ हजार, आली लगाउनेको ८ सयदेखी एक हजार, रोपारेको ६ रुपैयाँ ज्याला लाग्दछ ।

‘खेताला पाउन गाह्रो छ । पाईएका खेतालाको ज्याला पनि चर्को छ । अर्को कुरा झन् अहिलेका मान्छेले खेतीपातीमा खासै चासो राख्दैनन्,’ घिमिरेले भन्नुभयो, ‘खेती गर्ने मान्छेको संख्या निकै कम छ ।’ 

केही वर्षअघि अधियाँमा पनि खेतीपाती लगाउने मानिस थुप्रै भेटिन्थे । तर अहिले त खेती गरी खाउँ भन्दा पनि मानिस मान्दैनन् । खेती गर्दा खासै फाईदा नहुने भन्दै किसानहरु दुःखेसो पोख्छन् । 

दुःख ज्यादा, फार्इदा कम 

‘खेतीपाती गर्दा दुःख धेरै हुन्छ । खेताला महँगा छन् । मल, बीउ, गोडमेलमा पनि खर्च हुन्छ ।

श्रम र लगानी धेरै पर्छ । तर उत्पादन कम हुन्छ,’ सुन्दरबजार–६, का किसान बलबहादुर विश्वकर्मा भन्नुहुन्छ, ‘वर्षभरी दुःख गर्यो । उत्पादन कम हुन्छ ।

गर्जो टार्नै मुश्किल । खेती लगाउँदा गाह्रोसाह्रोमा अन्न निकाली खान पाईन्छ भन्नु मात्रै हो । नत्र यसमा दुःख ज्यादा, फाईदा कम छ ।’ 

७० प्रतिशत रोपाईँ सकियो   

गोरुका साथै रोपाईँका लागि आवश्यक कामदार नपाइएकै कारण केही ठाउँमा रोपाईँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताउनुभयो । 

‘सबै ठाउँमा त होइन । जिल्लाका केही ठाउँमा भने गोरुका साथै आवश्यक कामदार नपाएका कारण रोपाईँ हुन नसकेकै हो,’ उहाँले भन्नुभयो ।  

उहाँका अनुसार जिल्लामा ७० प्रतिशत रोपाईँ सकिएको छ । बाँझा र पानी पुगेका फाँटमा जेठेदेखी नै लमजुङमा रोपाई सुरु भएको हो । लमजुङमा किसानले साउनको मध्यसम्म धान रोप्छन् ।

हाते ट्रयाक्टरकै भर         

हलगोरु नपाईएसँगै पछिल्ला समय लमजुङका किसानहरुले हाते ट्रयाक्टरको उपयोग गरी खेतीपाती गर्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार बेसीमा रहेका सम्म फाँटमा प्रायः किसानहरुले ट्रयाक्टरकै प्रयोग गरी अन्नबाली लगाउँदै आएका छन् । 

‘हलीगोरु नपाईने समस्या छ । खर्च पनि कम, काम पनि छिटोछरितो हुने भएकाले यहाँका किसानले ट्रयाक्टरकै प्रयोग गरी खेतीपाती गर्दै आएका छन्,’ उहाँले भन्नुभयो ।    

फेदीकुनाका किसान रामबहादुर तामाङका अनुसार हाते ट्रयाक्टरले जोत्दा एक रोपनी जमिन एक घण्टामै सकिन्छ । ट्रयाक्टरले नै खेतबारी खनजोत गर्दा फाईदा हुन्छ । समय र पैसा दुवैको वचत हुन्छ । उत्पादन पनि राम्रो हुन्छ । ‘हाते ट्रयाक्टरमै फाईदा छ । त्यसैले म त खेतीपातीका लागि हाते ट्रयाक्टरकै प्रयोग गर्छु,’ उहाँले भन्नुभयो ।   

प्रतिघण्टा ट्रयाक्टरले खेतबारी खनजोत गरेस्वरुप १२ सय रुपैयाँ लिदैँ आएको हाते ट्रयाक्टर चालक एवम् कृषक गोपालबहादुर घर्ती बताउनुहुन्छ । अहिले उहाँलाई स्थानीय किसानको खेतबारी खनजोत गर्न भ्याईनभ्याई छ ।   

लमजुङको बेसीशहर, उदिपुर, सुन्दरबजार, भोटेओडार, पाउँदी, धमिलिकुवा, र भोर्लेटार लगायतका किसानहरुले पछिल्लो समय खनजोतका लागि हाते ट्रयाक्टरकै प्रयोग गर्दै आएका छन् ।

उन्नत जातको धानको खेती गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालय लमजुङका अनुसार जिल्लामा किसानहरुले रैथाने जातका धान छाडेर उन्नत जातको धान लगाउँदै आएका छन् ।

किसानहरुले रामधान, लोकतन्त्र, सावित्री, मकवानपुर–२, ३, ४, ५ र ६ लगायतका उन्नत जातका धानको खेती गर्दै आएका छन् ।      

अन्तिम अपडेट: भदौ २०, २०७५

श्यामशितल परियार

उज्यालोका लमजुङ र मनाङ जिल्ला सम्वाददाता श्यामशितल परियारलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया