बीपी साहित्य सम्मान ‘वैरागी काइँला’लाई

 भदौ २४, २०७६ मंगलबार १९:५१:५७ | रासस
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘वैरागी काइँला’लाई यस वर्षको ‘बीपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ ।

जननायक बीपी कोइराला स्मृति ट्रष्टले मंगलबार गरेको एक कार्यक्रमको आयोजनामा एक लाख एक हजार रुपैयाँ राशिसहितको सम्मान उहाँलाई प्रदान गरेको हो । 

यसैगरी ५१ हजार रुपैयाँ राशिको ‘बस्पी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं संघर्षमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरिएकोे छ । दुवै सम्मान नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रदान गर्नुभएको हो ।

कार्यक्रममा कांग्रेस नेता कोइरालाले बीपी बहुआयामिक, चलायमान र दूरदर्शी नेता भएको बताउँदै बस्पीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न कांग्रेस खरो रुपमा उत्रनुपर्ने उल्लेख गर्नुभयो ।

गणतन्त्र र सङ्घीयतालाई सम्बद्र्धन गर्न सङ्घीय सरकारले आवश्यक काम गर्न नसकेको आरोप लगाउँदै नेता कोइरालाले यसका लागि लोकतान्त्रिक शक्ति र नागरिक समाज जुर्मुराउने बेला आएको बताउनुभयो । सरकारले संसदमा अघि बढाएका केही विधेयक लोकतन्त्रविरोधी भएको टिप्पणी गर्दै उहाँले यसमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीले बीपी कोइरालाबाट आफूले असल बन्नुपर्छ भन्ने र असल काम गर्ने प्रेरणा पाएर त्यहीअनुसार अघि बढेको बताउनुभयो । राजनीतिक विश्लेषक डाक्टर हरि शर्माले बीपीले अपनाएको सिद्धान्त र दूरदर्शी सोचलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्दै देशमा भ्रष्टाचार, महंगी र असुरक्षा बढ्दासमेत कांग्रेसले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय वरिष्ठ साहित्यकार वैरागी काइँला र मधुकान्त सिंह, पूर्वराजदूत डाक्टर सुरेश चालिसे, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, प्राध्यापक डाक्टर अभि सुवेदी, ट्रष्टका महासचिव रामचन्द्र पोखरेललगायतले बीपीले देशका लागि गर्नुभएको राजनीतिक र साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो ।

ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बस्पी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डाक्टर ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचन सदस्य रहेको सिफारिस समितिले गएको साउन १५ गते वैरागी काइँला र मधुकान्त सिंहलाई सम्मान दिने निर्णय गरेको थियोे । दुवै पुरस्कारहरु मंगलबार १०६ औँ बीपी जन्मजयन्तीको अवसर पारेर प्रदान गरिएकोे हो ।

यसअघि २०७१ सालमा साहित्य सम्मान वरिष्ठ साहित्यकार रत्न शम्शेर थापा र सेनानी सम्मान नूतन थपलियालाई, २०७२  सालमा साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्वर्गीय तारानाथ कोइरालालाई प्रदान गरिएको थियो ।

 यसैगरी २०७३ सालमा साहित्य सम्मान साहित्यकार भुवन ढुङ्गाना तथा सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो । विसं २०७४ मा साहित्य सम्मान प्रा.डा. अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो भने २०७५ सालमा साहित्य सम्मान साहित्यकार रोचक घिमिरे र सेनानी सम्मान स्वर्गीय चक्रप्रसाद बाँस्तोलालाई प्रदान गरिएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया