डुबान पीडितको अनिंदोमै बित्यो रात, भुईंतला भाडामा लिएर बस्नेको बिचल्ली

 असार २९, २०७५ शुक्रबार १५:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको वस्तीका बासिन्दाका रात अनिंदोमै बितेको छ ।

भक्तपुर नगरपालिकाको जगाती, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली तथा मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वा चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान वस्तीका पीडितले अनिंदोमै रात काटेका हुन् ।

टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकाहरुमध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि भित्र सबै पानी पसेर लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्नहरुमा हिलो परेपछि उनीहरु बिचल्लीमा परेका छन् ।

कतिपयले खोला किनाराको आफ्नो वस्ती छाडेर छिमेकीकोमा रात बिताएका छन् भने कतिपय आफन्तको शरणमा पुगेका छन् । 

पक्की घर भएकाहरुमध्ये भुर्इंतलामा बस्नेहरुको अवस्था पनि उस्तै रहयो । बाढी घटेपनि घरभित्र पसेको पानी निकाल्न नपाएपछि ओछ्यानमा पानीको आहाल जमेकाले रातभरी अनिदोमै रात बिताउनु परेको पीडितहरुले बताएका छन् । 

मध्यपुरथिमि राधेराधे बस्ने शर्मिला पाठकले रात अनिंदोमै बितेको बिताउनुभयो । उहाँले भन्नुभयो, ‘दिउँसो बाढी घटे पनि कोठा भित्र पसेको पानी घटेन, कोठामा चार फिट माथिसम्म पानी भरिएको छ, एक्लैले पानी झिक्न सकिंदैन, ओछ्यान, लुगा, खानेकुरा सबै डुब्यो, खै के खाने, कहाँ सुत्ने पत्तो छैन ।’

यहाँका वस्तीमा भुर्इंतलामा धेरै भाडामा बस्नेहरु भएकाले उनीहरुको बिचल्ली भएको हो ।

अशोक थापाले भन्नुभयो, ‘खानेपानी समेत छैन, पानी ट्याङ्करले पानी वितरण गर्न आएपछि एक भाँडो पानी थापेर राख्यौं, यहाँ धेरैको यस्तै बिचल्ली छ, कोठामा छिरेको पानी झिक्न नगरपालिकाले पानी तान्ने पम्पको व्यवस्था गरिदिए धेरैको उद्धार हुने थियो ।’

निजी पानी तान्ने पम्प हुनेहरुले आज पानी तानेर बाहिर फ्याँके पनि पम्प नभएका धेरैको घरभित्रको पानी दह बनेर बसको छ ।

कमेरोटार भाटभटेनी पछाडि तीनतले घरको भुईंतलामा भाडामा बस्दै सृजना श्रेष्ठले भन्नुभयो, ‘कोठामा पानीसँगै पसेको माटो, हिलो २ फिटसम्म जमेको छ, भित्र जानेसम्म अवस्था छैन, सुत्ने त कहाँ कहाँ, सबै एकै ठाउँमा कोचिएर अनिदोमै रात बिताईयो ।’

व्यापारीको पनि उस्तै बिचल्ली भएको छ । भुईंतलामा राखेको पसल र पसलको गोदाम डुब्दा करोडौंका सामान नष्ट भएको छ ।

थिमिमा सञ्चालित सामसङ्ग कम्पनी लगायत विभिन्न ईलेक्ट्राेनिक्स कम्पनी, पसल, खाद्यान्न, व्यावसायी, सिमेन्ट व्यापारीको सामान डुबेर नष्ट हुँदा करोडौ‌को क्षति भएको छ । 

खानेपानीको वितरण सुरु:

मध्यपुरथिमि नगरपालिकाको पहलमा खानेपानी मन्त्रालयको निर्देशन अनुसार मध्यपुर थिमिको डुबान क्षेत्रमा शुक्रबारदेखि खानेपानी वितरण सुरु भएको छ ।

मध्यपुरथिमिको टोलटोलमा १८ वटा ट्यांकरबाट टोलटोलमा पुगेर खानेपानी वितरण सुरु गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुरमा पनि खानेपानी वितरण सुरु भएको छ ।

मृतकका परिवारलाई रकम हस्तान्तरण:

अविरल परेको वर्षाकमा कारण आएको पहिरोमा परेर एकै परिवारका तीनजनाको ज्यान गएकाको पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

चाँगुनारायण नगरपालिका ७ मझुवा गाउँका ७० वर्षीया हिरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ बर्ष ६ महिनाकी सम्पदा लामाको ज्यान गएको थियो ।

जिल्ला दैवी उद्धार समितिले शुक्रबार पीडित परिवारलाई रकम हस्तान्तरण गरेको हो । मानवीय आस्था नेपाल र नेपाल रेडक्रस सोसाईटीले राहत रकम वितरण गर्न थालेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया