डेंगी र स्क्रब टाइफसको लक्षण उस्तै, घर वरपर सफा राख्न डाक्टरको सल्लाह

 भदौ २५, २०७६ बुधबार ९:१६:५२ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा डेंगीसँगै स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । डेंगी भएको भन्दै अस्पताल पुगेका बिरामीमा स्क्रब टाइफस भएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । 

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगी र स्क्रब टाइफसको लक्षण एउटै हुन्छ । अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु स्क्रब टाइफसका लक्षण हुन् भने उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, टाउको धेरै दुख्नु, खान मन नलाग्नु, जोर्नी तथा मांसपेशी दुख्नु लगायत लक्षण डेंगीको पनि हो । 

अहिले डेंगी सबैतिर फैलिरहेको तथा डेंगी र स्क्रब टाइफसको लक्षण उस्तै भएकाले धेरै जना डेंगी भएको भन्दै अस्पताल पुग्ने गरेका उहाँले जानकारी दिनुभयो । जमेको सफा पानीबाट निस्कने खैरो रंगको पोथी लामखुट्टेको टोकाइबाट डेंगी र झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस सर्ने भएकाले घर वरिपरी सरसफाइ गर्न डाक्टर पुनले सुझाव दिनुभयो । 

स्क्रब टाइफसका लक्षण देखिए तत्काल उपचार गराएर डक्सी साइकिलिन एन्टीबायोटिक क्याप्सुल खाए ४८ घण्टामा निको हुने, तर उपचार नगरे ज्यानै जाने जोखिम हुने डाक्टरको भनाइ छ । समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या भएर बिरामीको ज्यानै जाने भएकाले समयमा उपचार गराउन डाक्टर पुनको सुझाव छ । 

यस्तै, व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्नु तथा मुसा, किर्ना, सुलसुलेलगायतका किरा नियन्त्रण गरे यो रोगबाट बच्न सकिने उहाँले बताउनुभयो । रोग सार्ने किरा जाडो र गर्मी महिनाको तुलनामा वर्षा याममा बढी सक्रिय हुने भएकाले वर्षातको समयमा स्क्रब टाइफसका बिरामी बढ्ने सरुवारोग विशेषज्ञ पुनले बताउनुभयो । 

डेंगीको लक्षण देखिएको झोलिलो खानेकुरा खान सुझाव

डेंगी भएको लक्षण भएमा घरमै झोलिलो खानेकुरा खाएर आराम गर्दा निको हुने डाक्टरले बताएका छन् । डेंगी लाग्दैमा आत्ति हाल्नु नपर्ने भन्दै घरमै सिटामोल र झोलिलो खानेकुरा खाएर आराम गर्न डाक्टरले सुझाव दिएका हुन् ।

केही समय आराम गरेपछि डेंगी निको हुने सरुवा रोग विशेषज्ञ पुनले स्पष्ट पार्नुभयो । 

डेंगीको संक्रमण फैलिने क्रम बढे पनि यसबाट जोगिन र संक्रमण भइहाले निको पार्न सकिने भएकाले नआत्तिन डाक्टरको सुझाव छ । डेंगी धेरैतिर फैलिँदा धेरैमा त्रास बढेको, तर डेंगी लाग्दैमा आत्तिहाल्नु नपर्ने डाक्टर पुनले बताउनुभयो । 

डेंगीको सँक्रमण हुँदा ८/१० दिन ज्वरो आउने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, टाउको धेरै दुख्ने, खान मन नलाग्ने, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिने तर डाक्टरको सल्लाहमा उपचार गर्दा निको हुने भएकाले आत्तिन नपर्ने तर बेलैमा स्वास्थ्यकर्मीसँग सम्पर्क भने गर्नुपर्ने उहाँले बताउनुभयो ।  

ज्वरो आउँदा सिटामोल मात्र खानुपर्ने तर फ्लेक्सन निम्सलगायतका सिटामोलको साथमा अरु तत्व पनि थप गरिएका औषधि भने खान नहुने उहाँको भनाइ छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका र यसअघि पनि डेंगी भइसकेकालाई फेरि डेंगी भए बढी सतर्कता अपनाउनुपर्ने  डाक्टरको सुझाव छ । 

डेंगी सार्ने ‘एडिस एजिप्टाइ’ लामखुट्टे सफा पानीमा बस्ने तथा मानिसजस्तै बिहान उठ्ने दिनभरी सक्रिय हुने र बेलुका निष्कृय हुने गर्छ ।

लामखुट्टेको टोकाइबाट जोगिनु नै डेंगीबाट बच्ने सबैभन्दा राम्रो उपाय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको एनटीटी तथा भ्याक्टर बर्न रोग शाखाका प्रमुख डाक्टर घनश्याम पोखरेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया