बैंकिङ गतिविधि : सानिमा बैंकको एनआरएन मुद्दती खाता, सिभिलको एन्यूटी बचत योजना

 भदौ २५, २०७६ बुधबार ९:२७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सानिमा बैंकले गैरआवासीय नेपालीका लागि उच्चतम प्रतिफल दिने उद्धेश्यले सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ । यो खाता गैरआवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन् ।

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५५, पाउण्ड स्टर्लिङमा ३५ र यूरोमा २५ को उच्चतम ब्याजदर प्राप्त गर्न सकिन्छ । सानिमा एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम १०,००० (अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो) हुनुपर्ने छ । 

२ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भए पछि साँवा तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन् ।

यो खाता खोल्न सानिमा बैंकको नजिकैको शाखा वा सानिमा बैंकको वेबसाइटमा लग इन गरि अनलाइनबाटै आवेदन दिन सकिने छ । खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरिएको गैर आवासीय नेपालीको परिचयपत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र हालसालै खिचिएको फोटो बैंकलाई बुझाउनु पर्नेछ ।

सिभिल बैंकको एन्यूटी बचत योजना

सिभिल बैंकले नेपालमा नै पहिलो पटक एन्यूटी बचत योजना ल्याएको दाबी गरेको छ । बैंकका ग्राहकहरूलाई आकर्षित गर्दै ल्याइएको योयोजनामा बचत खाता र मुद्दती खातालाई समायोजन गरी एन्यूटी बचत तथा निक्षेप योजना ल्याएको सिभिल बैंक प्रदेश १ का प्रबन्धक सन्तोष बुढाथोकीले बताउनुभएको हो ।

एन्यूटी बचत योजनाले कुनै पनि ग्राहकलाई भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी बैंकलाई मासिक किस्ता बुझाएपछि इच्छाइएको रकम त्यो अवधिपछि एक मुष्ठ बैंकबाट प्राप्त गर्न सकिने उहाँको भनाई छ ।

सिभिल बैंकद्वारा विराटनगरमा अयोजना गरिएको पत्रकार सम्मेलनमा बैकका प्रदेश १ प्रमुख बुढाथोकीले सिभिल एन्यूटी बचतअन्तर्गत खोलिएको खाताको ब्याजदर अवधिभर स्थिर रहने पनि बताउनुभयो ।

न्यूनतम एक हजारबाट खाता सुरु गर्न सकिने र व्यक्तिगत तथा संस्थागत बचतकर्ता दुबैले खाता सञ्चालन गर्नसक्ने पनि उहाँको भनाई छ । यो योजना एक वर्षदेखि सात वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेश १ मा सिभिल बैंकका १९ शाखा सञ्चालनमा छन् ।

राष्ट्रिय वाणिज्य बैंक र किस्ट हस्पिटलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ्ग हस्पिटलबीच बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ्ग हस्पिटलका कार्यकारी अध्यक्ष आशिष थापाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता भएपछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारले आउटसोर्स बाहेकको अस्पताल सेवा शुल्कमा १५ प्रतिशत र फारमेसीमा ७ प्रतिशत छुट एक वर्ष सम्म पाउनेछन् । 

राष्ट्रिय वाणिज्य बैंकको अहिले सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटीएम, ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ । 

सिद्धार्थ बैंकको तीन नयाँ शाखा

सिद्धार्थ बैंकले सोमबार काठमाण्डाैको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।

ज्योति विकास बैंकको नयाँ शाखा सिनामंगलमा

ज्योति विकास बैंकले सोमबार काठमाण्डौको सिनामंगलमा नयाँशाखा सञ्चालन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै नागरिक माझ पुर्‍याउने उद्देश्यकासाथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको भन्दै बैंकले नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै राखेको पनि जनाएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नं ९, सिनामंगलस्थित ज्योति विकास बैंकको नयाँ शाखाको उद्घाटन नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरुपमा गरेका थिए । 

लक्ष्मी बैंकको नयाँ शाखा चापागाउँमा

लक्ष्मी बैंकले चापागाउँमा नयाँ शाखा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको पनि जनाएको छ । 

प्रभु बैंकको बराहक्षेत्रमा अर्को शाखा

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुुुुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका कालाबञ्जरमा आफ्नो १९५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको कालाबञ्जर शाखा कार्यालयको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले उद्घाटन गर्नुभयो ।

कालाबञ्जर शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि तथा नगर प्रमुख निलमखनालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभएर समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उल्लेख गर्नुभयो ।

प्रभु बैंकले अहिले १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखारहित बैंकिङ तथा १५२  एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया