सत्तारुढ दल नेकपाद्वारा उपचुनावका लागि दल दर्ता गर्ने निर्णय

 भदौ २५, २०७६ बुधबार १८:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने चुनावका लागि दल दर्ता गराउने निर्णय गरेको हो । निर्वाचन आयोगमा दर्ता भएको दलहरुको रेकर्डमा नेपाल कम्युनिष्ट पार्टी भन्ने दल नरहेकोले दल दर्ता गराउनु पर्ने भएको हो । 

नेपाल कम्युनिष्ट पार्टी कोष्ठभित्र नेकपा लेखिने गरी निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले चुनावमा भाग लिएको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि दल दर्ता गराउनु परेको हो ।

बैठकले दल दर्तासम्बन्धी सम्पूर्ण काम गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको बैठकपछि प्रवक्त्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले उपचुनावको लागि नयाँ दलहरुको लागि भदौ मसान्तको समय तोक्दै सूचना प्रकाशित गरिसकेको छ । यस्तै बैठकमा पार्टी एकताका बाँकी काम अगाडि बढाउने विषयमा सामान्य छलफल भए पनि कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया