सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ, तीन विकेट लिँदै ‘म्यान अफ द म्याच’ बने

 भदौ २६, २०७६ बिहिबार ८:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यारेवियन प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । बारबाडोस ट्रिडेन्ट्सबाट खेलिरहेका सन्दीपले ४ ओभर बलिङ गर्दा गत सिजनकाे पूर्व टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सका तीन जना ब्याट्सम्यानलाई आउट गरेका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपकाे टिम बारबाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

उसका लागि लेनिको बाउचरले अविजित ६२ रनको योगदान दिए भने जनसन चार्ल्सले ५२ रन जोडे । यस्तै जेपी डुमिनीले ४३ रन बनाए ।

१८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स एण्ड नेभस प्याट्रियोट्सको इनिङ्स १५ ओभरमा जारी रहँदा मैदानमा वर्षा भएपछि केहीबेर खेल पनि राेकिएकाे थियाे ।

नेपालका सन्दीपले  ५ औं ओभरमा पहिलो बलिङ गरेका थिए । पहिलाे ओभरमा उनले ७ रन खर्चिएका थिए । दाेस्राे ओभर ११ ओभरमा गरेका थिए । जसमा सन्दीपले सुरुवाती चार बल डट फाले । पाँचौं बलमा शमर ब्रुक्सले छक्का हाने । अन्तिम बलमा एक रन दिए ।

त्यसपछि १३औं ओभरको पहिलो र अन्तिम बलमा विकेट लिएका थिए । पहिलाे बलमा ब्रुक्सलाई सन्दीपले क्याचआउट गराउँदै व्यक्तिगत पहिलाे सफलता हात पारे । दोस्रो बलमा लाउरी इभान्सले दुई रन लिए । 

तेस्रो र चौथो बलमा कुनै रन भएन । पाँचौं बलमा इभान्सले चौका प्रहार गरे । इभान्स सेन्ट बारबाडोसका लागि खतरा बनिरहेका थिए । उनले १० चौका र एक छक्का प्रहार गर्दै ६४ रन जोडिसकेका थिए । तर, सो ओभरको अन्तिम बलमा इभान्सलाई सन्दीपले क्याचआउट गराएपछि बारबाडोसले छैटौं सफलता पायो भने सन्दीपले व्यक्तिगत दाेस्राे सफलता हात पारे ।

त्यसपछि १५ औं ओभरमा सन्दीपले कार्लोस ब्राथह्वाइटको विकेट लिए । १५ औं ओभरमा तेस्रो बलमा ब्राथह्वाइटलाई सन्दीपले एलबीडब्लूको धरापमा पारेका हुन् ।  यसैबीच सन्दीपकाे टिम १० रनले विजयी भएकाे छ भने उनी म्यान अफ द म्याच समेत भएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया