बसभित्र किशोरी बलात्कार प्रयास गर्ने चालक र सहचालक पक्राउ

 भदौ २६, २०७६ बिहिबार ८:४३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – बसभित्र किशोरी बलात्कार प्रयासको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका– ३ घर भएका ना ६ ख ९३४४ नम्बरको बसका चालक ३७ वर्षीय किरण खड्का र बसका सहचालक उर्लाबारी नगरपालिका– ४ घर भएका १९ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

धनकुटा स्थायी घर भएकी र अहिले आफन्तको घरमा बस्दै आएकी १५ वर्षीया किशोरीलाई गएको आइतबार उनीहरुले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

वेतना सिमसारबाट दमक हिँडेकी बालिका दमक पुगेपछि बसबाट झर्न खोज्दा झर्न नदिई फकाएर बसमै राखेर पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका–९ को दोहमना हाटचौक लगेर बलात्कारको प्रयास भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले बताउनुभयो ।

गएको आइतबार साँझ साढे ६ बजेको समयमा बसका चालक खड्काले बसको पछाडीको सीटमा बलात्कार प्रयास गरेपछि किशोरी बाहिर भागेकी थिइन् । तर, सहचालक न्यौपानेले पुनः बसभित्र लगेर करणी गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरीको आवाज सुनेपछि भेला भएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

घटनापश्चात् इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले चालक र सह–चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी श्रेष्ठले बताउनुभयो । पक्राउ परेका चालक र सहचालकको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया