दशैंको मुखमा हरेक सामानको भाउ महँगो

 भदौ २६, २०७६ बिहिबार १३:५३:३० | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – घरायसी सामान किन्न असन बजार पुगेकी सुश्मा घिमिरे झण्डै तीन घण्टा ओहोरदोहोर गर्नुभयो । तर कतै पनि आफूले खोजेको दाममा सामान पाउनुभएन । व्यापारी सस्तो–सस्तो भन्दै बोलाउँथे । तर व्यापारीले भनेजस्तो कुनै पनि सामान सस्तो भेटिएन । ‘बजार भाउको कुरै नगरौं भो, कुन चाहिँ महँगो छैन ?’ उहाँले भन्नुभयो ।

घरबाट ल्याएको झोला रित्तै लैजाने कुरा पनि भएन । तर झोलामा राख्ने सामान किन्न अड्कलेको पैसाले पुगेन । ‘काठमाण्डौको कागेश्वरी मनोहराबाट २५ रुपैयाँ भाडा खर्च गरी बजार आएको खै केही पनि सामान सस्तो भेटिंदैन’ उहाँले भन्नुभयो, ‘आउँदा जाँदा एक जनाको ५० रुपैयाँ, दुई जनाको सय रुपैयाँ त्यसै खर्च हुन्छ । २/४ रुपैयाँ सस्तो होला भन्नु मात्रै हो । अहिले नै यस्तो महँगो छ, दशैं, तिहारमा झन् के होला ? महँगीले हामी जस्ता मध्यम र निम्न वर्गलाई बाँच्नै गाह्रो हुने भयो । बजारमा भाउ सोध्ने आँटै गर्न नसक्ने भैसकेछ ।’ 

सुशमा घिमिरेजस्ता उपभोक्तालाई दशैं आउँदै गर्दा बजार भाउले निराश पारेको छ । बर्सेनि चाडपर्वको मुखमा बजार महँगो हुने गरेको छ । त्यसैले चाडपर्वमा महंगी बढ्छ भन्ने धेरैको बुझाइ छ । तर यसपटक दशैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व नआउँदै बजार अचाक्ली महँगो भएको छ । उपभोक्ताले भनेजस्तै बजारमा कुनै पनि वस्तुको भाउ छोइसाध्य छैन । खाद्यबस्तु, लत्ताकपडा तथा दुग्धपदार्थको भाउ बढेको बढ्यै छ ।

दैनिक उपभोग्य बस्तु महँगो

चामल, तरकारी, फलफूल र मासुको भाउ साउनदेखि नै बढेको हो । चामल प्रतिबोरा ५० रुपैयाँ बढेको छ । पोहोर यतिबेला गोलभेंडाको भाउ किलोको ६० रुपैयाँ थियो, अहिले ९० रुपैयाँ पुगेको छ । त्यस्तै सुकेको प्याज किलोको ४५ देखि ५० रुपैयाँमा पाइन्थ्यो । तर अहिले ७० रुपैयाँ खुद्रा मूल्य छ । लसुन २ सय रुपैयाँबाट बढेर प्रतिकिलो २ सय ५० रुपैयाँ पुगेको छ । बाहिरबाट आयात गर्नुपर्ने हरेक सामान महँगो भएको असनका व्यापारी रामहरी अधिकारीको दाबी छ । उहाँले सरकारले लिने भ्याटले महँगो पारेको तर्क गर्नुभयो ।

दुग्धपदार्थको भाउ पनि बढ्यो

खाद्यवस्तु र लत्ताकपडा मात्रै होइन, गएको शनिबारदेखि दूध र दुग्धपदार्थको पनि भाउ बढेको छ । दूध प्रतिलिटर ६ रुपैयाँ बढेर ७६ रुपैयाँ पुगेको छ । दूधको भाउ बढेपछि व्यवसायीले दही, मही, मिठाइको पनि भाउ बढाएका छन् । दुग्ध विकास संस्थाले दुधको भाउ लिटरमा ६ रुपैयाँ बढाएपनि डेरीले मनपरी भाउ लिने गरेका छन् । उनिहरुले दुध, दही लिटरमा १० रुपैयाँसम्म बढी लिने गरेको उपभोक्ताको गुनासो छ ।

दूधको भाउ बढाउनुपर्ने बेला भए पनि सरकारले व्यवसायीको दबाबमा हतार गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउनुहुन्छ । आम उपभोक्तालाई असर पर्नेगरी चाडपर्वको मुखमा भाउ बढ्दा उपभोक्ताले थप महंगीको असर खेप्नुपर्ने उहाँले बताउनुभयो । ‘उसै त हरेक वस्तु महँगो छ, यसपाली दूधको पनि भाउ बढ्यो, त्यसले किसानलाई फाइदा पुग्छ, तर फाइदा लिने भन्दा महंगी भोग्ने धेरै छन्’ महर्जन भन्नुुहुन्छ ।

बजेटले कर्मचारीको तलब बढाएपछि त्यसको असर बजारमा परेको हो । बजारमा हरेक बस्तुको भाउ बढेपछि सबैलाई असर परेको छ । बढी असर मध्यम र निम्न आय भएका उपभोक्ताले खेप्नुपरेको छ । 

बजारमा एकपटक भाउ बढेपछि हत्तपत्त घट्दैन । तर बजार मूल्य नियन्त्रणमा सरकारको योजना छैन । सरकारले मुख्य चाडपर्वलाई लक्षित गरी सोमबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । तर ती पसल पनि आम उपभोक्ताको पहुँचमा छैनन् ।

अन्त भन्दा मूल्यमा खासै अन्तर नभएको उपभोक्ताको गुनासो छ । तर सरकारले यस्ता पसललाई बजार हस्तक्षेपकै रुपमा लिएको छ । सहुलियत पसल खोलेपछि निजी क्षेत्रले मूल्यमा मनपरी गर्न नपाउने र उपभोक्ताले बजार मूल्य थाहा पाउने भएकाले चाडपर्वमा राहत पुग्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको दाबी छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया