नेपाली चलचित्रको श्रीवृद्धिका लागि सधैँ प्रतिबद्ध छाैँ : बाेर्ड अध्यक्ष भट्टराई

 भदौ २६, २०७६ बिहिबार १३:५७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफूहरु सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा बिहीबारदेखि सुरु भएको ‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’को उद्घाटन गर्दे उहाँले बोर्डको प्राथमिकता र कार्यक्रमहरु सधैँ नेपाली चलचित्रको वृद्धि विकासमा केन्द्रित हुँदै आएको बताउनुभएको हो ।

भविष्यमा नेपाली चलचित्रको विकास र सम्मृद्धिका लागि सिर्जनशीलताको साथै प्रविधिको सही सदुपयोग अत्यावश्यक रहेको भन्दै उहाँले चलचित्रसम्बन्धी विधेयकमा आवश्यक सुझाव दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

विधेयक बोर्डको वा सरकारको मात्रै नभएको भन्दै उहाँले समग्र चलचित्र क्षेत्रको वृद्धि विकास र यस क्षेत्रका कलाकार, लगानीकर्ता सबैको हित अनुकुल बनाउँदै समग्र नेपाली चलचित्रलाई समृद्धिको बाटोमा डोर्याउने कानुनी दस्तावेज भएकाले सबैको रायसुझावले महत्व राख्ने बताउनुभयो ।

उहाँले भारतीय फिल्म अवार्ड आईफा अवार्ड एक निजी टेलिभिजनको आफ्नो कार्यक्रम भएकाले त्यसमा नेपाल सरकारको लगानी हुन नहुने तर्क गर्नुभयो । हरेक वर्ष भारत बाहिर अवार्ड गर्दै आएको आईफाका आयोजकले यस वर्ष भने भार मा नै अवार्ड गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।

आईफाका लागि नेपाल सरकारले लगानी गर्न लागेको कुरा झुटो भएको बताउँदै उहाँले बाहिर आएको दस्तावेज आईफाको एकतर्फी प्रस्ताव मात्रै भएको बताउनुभयो ।

बिहीबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्समा नेपाली चलचित्र क्षेत्रको सुधार, नीतिगत व्यवस्थालगायत विषयमा व्यापक छलफल हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया