सम्भावनाको क्षेत्र देखाउँदै 'जिटुजी'मार्फत कामदार लैजान जापानलाई प्रस्ताव

 असार २९, २०७५ शुक्रबार १८:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

शिष्टाचार भेट गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिचि साइगो ।

काठमाडौं – जापानमा जिटुजी अथवा दुई सरकारबिच सम्झौता गरेर कामदार लैजान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आग्रह गर्नुभएको छ ।

आइटी इन्जिनियर, स्टाफ नर्स, केयरगिभर, मार्केटिङ र सेल्स स्टाफ, एकाउन्टिङ तथा होटल र रेष्टुराँ जस्ता क्षेत्रमा नेपाली कामदारका लागि रोजगारीका सम्भावना देखिएको भन्दै जिटुजी गर्न मन्त्री विष्टले आग्रह गर्नुभएको हो । 

जवाफमा राजदूत मासामिचिले जापानको श्रम सम्बन्धी नीति र कानुनमा पनि समयक्रमसँगै परिमार्जन भइरहेको सन्दर्भमा नेपाली प्रशिक्षार्थी श्रमिकलाई जापानमा सहज र व्यवस्थित रोजगारी उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिचि साइगोसँग शुक्रबार शिष्टाचार भेट गर्दै मन्त्री विष्टले जापानको रोजगारीमा देखिएका समस्या समाधान गरी थप सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जापानमा अध्ययन अध्यापन लगायत विभिन्न पेशामा झण्डै ८० हजार नेपाली रहेको भन्दै मन्त्री विष्टले रोजगारीको लोभ देखाएर दलालले ठगी गरिरहेको गुनासो आएको र त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदारलाई जापान पठाउने प्रणालीको फाइदा उठाउँदै केही म्यानपावरले नाजायज फाइदा उठाएको सन्दर्भ उल्लेख गर्दै प्रशिक्षार्थी कामदार पठाउनु अघि विभिन्न मापदण्ड बनाएर पारदर्शी रुपमा कार्यान्वयन गर्ने र दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त समितिले अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्नेमा मन्त्री विष्टले जोड दिनुभयो । 

जवाफमा राजदूत मासामिचिले जापानको श्रम सम्बन्धी नीति र कानुनमा पनि समयक्रमसँगै परिमार्जन भइरहेको सन्दर्भमा नेपाली प्रशिक्षार्थी श्रमिकलाई जापानमा सहज र व्यवस्थित रोजगारी उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । श्रम र रोजगारी सम्बन्धी पारस्परिक हित र सहकार्यका हरेक प्रयासमा जापानको सकारात्मक सहयोग रहने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया