अंगीकृत नागरिकताकाे विषयमा सरकार गम्भीर छ, दाेहाेराे नागरिकता नहाेस् भन्नेमा पनि सचेत छ : गृहमन्त्री थापा

 भदौ २७, २०७६ शुक्रबार १४:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससँग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले अंगीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संशोधन सम्बन्धमा सरकारको धारणा राख्दै उहाँले यो विषयमा सरकार गम्भीर भएको बताउनु भयो । 

उहाँले सीमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरी अंगीकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको स्पष्ट पार्नुभयो । सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्री थापाले नेपाल–भारतबीचको विशेष सम्बन्ध र नागरिकतासम्बन्धी छिमेकी देशको व्यवस्थालाई समेत मध्यनजर गरी नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई नेपाली अंगीकृत नागरिकता प्राप्त गर्ने समय ७ वर्ष तोकिएको स्पष्ट पार्नुभयो । 

सरकारले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला र नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषका लागि अंगीकृत नागरिकता पाउनका लागि निर्धारण गरेको समय चित्त नबुझे जनप्रतिनिधिले आवश्यक संशोधन गर्न सक्ने गृहमन्त्री थापाको भनाइ थियो । 

नागरिकतासम्बन्धी विधेयक समितिमा झण्डै ६ महिनादेखि छलफलकै क्रममा रहेको छ । शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संशोधनबारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन ।

विधेयकमा नेपाली अंगीकृत नागरिकता पाउनका लागि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष र नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई १५ वर्षको समय राखिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया