एक दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध हुँदैन : प्रधानमन्त्री ओली

 असार २९, २०७५ शुक्रबार १९:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एक/दुई जना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको शुक्रबारको भेटमा प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो । 

“एउटा निहुँ झिकेर दुईजना सँसद ठिंग उभिंदा संसदका सबै गतिविधी अवरुद्ध हुने हुनु हुँदैन” प्रधानमन्त्रीओलीले भन्नुभयो “नेपाली काँग्रेसले झिनामसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुँदैन । दुईचार जना मान्छेले गलत नियतले उभिंदा संसद रोकिदैन ।”

प्रधानमन्त्रीओलीले देश विकासका कुरा, नागरिकको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताउनुभयाे । “हामी दुई तिहाइ बहुमतमा छौँ । हाम्रा माननीहरुले विकासका कुरा संसदमा जोडदार उठाउनु पर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिनाभित्रै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताउनुभयाे । “साउनभित्र पार्टी एकिकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन् ”प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ । अब त्यो रोकिन्छ ।”

सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले दोहोर्याउनुभयो ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया